काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले विचार र सिद्धान्त मिल्ने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टीसँग पार्टी एकताको पहल गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले मुलुकमा उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नु भएको छ । पार्टीको बैठक २०८२ असोज ३ गते बसेको थियो ।
पार्टीले गरेको निर्णयलाई १० बुँदामा विज्ञप्तिमार्फत भनिएको छ-‘पार्टीले नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने समूहसँग एकता गर्ने र अन्य पार्टीहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्ने पहल अघि बढाउने छ।’
यस्तै, प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गते तोकिएको हुँदा सो मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, दलहरू, नागरिक समाजलगायत सबैलाई हार्दिक आह्वान गरिएको छ ।
पार्टीले विगतका कामहरूको समीक्षा गर्दै गल्ती-कमजोरी सच्याएर राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनहित र मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।