मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सार्वजनिक सम्पत्ति तोडफोड गर्नेविरुद्ध कारबाहीको चेतावनी : पोखरेल

रुद्रबहादुर खड्का, सिन्धुली

भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा कमलामाई नगरपालिकामा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूलाई कानुनी कारबाही गरिने भएको छ ।

नगर कार्यपालिकाको आज विहान बसेको बैठकले आन्दोलनकै नाममा सार्वजनिक संरचना तोडफोड हुँदा खुशी व्यक्त गर्ने तथा “अब स्थानीय तहको पालो” भन्ने टिप्पणी गर्नेहरूमाथि समेत प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

नगर प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार प्रारम्भिक प्रतिवेदनले तोडफोड र आगलागीका घटनाबाट नगरपालिकामात्र करिब ४ करोड रुपियाँ बराबरको क्षति पुगेको देखाएको छ ।

“भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गर्नु स्वाभाविक हो, तर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता संरचना जल्दा खुशी मान्ने र स्थानीय तहलाई लक्षित गर्दै उत्तेजनापूर्ण टिप्पणी गर्नेहरू सह्य हुँदैनन् ।”- पोखरेलले चेतावनी दिनुभयो ।

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो-“सरकारी संरचना जलाउन उक्साउने वा त्यसमा सहभागी हुनेहरू राज्यविरुद्धको फौजदारी कसुर अन्तर्गत कारबाहीको दायरामा आउनेछन् । यस्ता व्यक्तिहरू सरकारी सेवामा रहन योग्य छैनन् ।”

नगरपालिकाले आम नगरवासीलाई पनि यस्ता प्रमाणहरू उपलब्ध गराउन आह्वान गरेको छ ।

यसैबिच, नगरपालिकाको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको र तत्काल सञ्चालन गर्न नसकिने अवस्था भएको छ । पछाडिको टहराबाट आंशिक रूपमा मात्र काम गर्ने सम्भावना भए पनि दशैं नजिकिँदै गर्दा सामाजिक सुरक्षा भत्ता वितरणमा अवरोध आउन सक्ने आशङका गरिएको छ ।

नगर प्रमुख पोखरेलले कार्यालय सञ्चालनमा केही समय लाग्ने भए पनि छिट्टै जनताको सेवामा फर्कने दृढता व्यक्त गर्नुभयो ।

Author

Related News