पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भदौ २३ र २४ गते Gen-Z युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै संयमित रहन सबैलाई आग्रह गर्नु भएको छ ।
भदौ २६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उहाँले भदौ २३ गतेको मानवीय क्षति र भदौ २४ गते सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिप्रति गहिरो दु:ख प्रकट गर्नु भएको छ ।
सङ्घीय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयदेखि गण्डकी प्रदेशसभा भवन र सरकारी–निजी सम्पत्तिमा पुर्याइएको क्षतिलाई उहाँले ‘निन्दनीय र पीडादायी’ भन्नु भएको छ ।
त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक नेताहरूमाथि भएको आक्रमणलाई अमानवीय भन्दै उहाँले घोर निन्दा गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
मुख्यमन्त्री पाण्डेले यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संवाद, संयम र एकताको बाटो नै विकल्प रहेको उल्लेख गर्नु भएको छ ।
राष्ट्रपतिद्वारा अगाडि बढाइएको संवाद पहललाई स्वागत गर्दै उहाँले यसलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतसहित सबैको सहकार्य अपरिहार्य भएको बतारउनु भयो
समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’लाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले गण्डकी प्रदेश सरकारले ‘घर जलेपछिको खरानीलाई जग बलियो बनाउन पुँजीको रूपमा’ लिने प्रतिबद्धता जनाएको बताउनु भयो । पाण्डेका अनुसार, सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने छ ।