ललितपुर । सन् २०३० भित्र नेपालले कुष्ठरोग नियन्त्रण गर्ने लक्ष्य हासिल गर्नेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले दृढ विश्वास व्यक्त गर्नुभएको छ ।
“शून्य कुष्ठरोगको लागिसँगै काम गरौँ” भन्ने नारासहित द लेप्रेसी मिशन नेपालले २०८२ भदौ २३ गते होटल हिमालय कुपण्डोलमा आयोजना गरेको राष्ट्रिय प्रसार कार्यक्रममा बोल्दै डा. झाले तीनै तहका सरकारको समन्वय, दक्ष जनशक्ति विकास, निगरानी प्रणाली सुदृढीकरण र निःशुल्क उपचार सेवाको व्यवस्थाले लक्ष्य सफल हुने बताउनु भयो ।
कार्यक्रममा द लेप्रेसी मिसन इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक बेन्ट मर्गनले नेपालले विश्वस्तरमै उदाहरणीय उपलब्धि हासिल गरेको उल्लेख गर्नु भयो ।
उहाँले नेपालमा १६ अस्पताल र तीन अध्ययन तथा अनुसन्धान केन्द्रमार्फत प्रभावकारी काम भइरहेको जानकारी दिनु भयो ।
नेपाल अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष मित्रलाल शर्माले द लेप्रेसी मिशनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार कुष्ठ प्रभावितको सङ्ख्या क्रमश घट्दै आएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा योगदान गर्ने सङ्घसंस्था र सरकारलाई धन्यवाद दिनु भयो ।
राष्ट्रिय निर्देशक शोभाखर कँडेलले तीन दशकभन्दा बढीको यात्राले उल्लेख्य उपलब्धि दिएको र आगामी दिनमा अझ सहकार्य आवश्यक रहेको बताउनु भयो ।
आनन्दवान अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. कालेब बुढाले ललितपुरका दक्षिणी भेगका जनतालाई अन्य स्वास्थ्य सेवासहित देश तथा भारतका कुष्ठ प्रभावितलाई सम्पूर्ण सेवा उपलब्ध गराइएको जानकारी दिनु भयो ।
द लेप्रेसी मिशन नेपालका अध्यक्ष अशोक अधिकारीले कुष्ठ प्रभावितका पीडादायी कथाहरु सुनाउँदै बिरामीप्रति देखाइने सद्व्यवहार नै उपचार सेवाको प्रभावकारिताको आधार भएको बताउनु भयो ।
सन् १९५७ देखि सुरु भएको कुष्ठरोग नियन्त्रण अभियानले सात दशकपछि पनि रोग उन्मुलन र पीडितलाई सम्मान दिलाउने यात्रालाई निरन्तरता दिइरहेको द लेप्रेसी मिशन नेपालले जनाएको छ ।