मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व कायम राख्नु आजको आवश्यकता: प्रजिअ शर्मा

पोखरा । पोखरा महानगरपालिका-१५ को आयोजनामा वडास्तरीय ‘तीज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम–२०८२’ भदौ ६ गते सिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भयो ।

कार्यक्रमकी प्रमुख अतिथि कास्कीकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले तीज पर्वले धार्मिक, सामाजिक र सांस्कृतिक एकता सुदृढ पार्ने बताउँदै टाढा रहेका परिवार, आफन्त र साथीभाइलाई नजिक ल्याउने अवसरका रूपमा यसलाई मनाउनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

उहाँले मौलिक संस्कृतिको संरक्षण गर्दै सभ्य र अनुशासित तरिकाले पर्व मनाउन आग्रह गर्दै समुदायमा समस्या देखिए तत्कालै उजागर गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रशासन सहयोगका लागि तत्पर रहने बताउनु भयो ।

पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरण बानियाँले महिला नेतृत्वलाई प्रमुख अतिथि बनाउन पाएकोमा खुशी व्यक्त गर्दै वडाले चाडपर्वलाई उत्सवका रूपमा मनाउँदै पूर्वाधारसँगै मानवीय विकासमा जोड दिइरहेको जानकारी दिनु भयो ।

प्रतियोगितामा १४ समूह सहभागी भएका थिए।

जसमा प्रथम: चेतना आमा समूह – नगद १५,००० रुपियाँ र प्रमाणपत्र

द्वितीय: ढुङ्गेसाँघु दिदीबहिनी समूह – नगद १०,०५० रुपियाँ र प्रमाणपत्र

तृतीय: विश्वकर्मा आमा समूह – नगद ७,०५० रुपियाँ र प्रमाणपत्र

सान्त्वना पुरस्कार सिद्ध मा.वि. विद्यार्थी समूह ‘क’ र लक्ष्मी टोल आमा समूहले प्राप्त गर्दै ३-३ हजार रुपियाँ नगद तथा प्रमाणपत्र पाए । उत्कृष्ट नृत्यतर्फ अस्मिता क्षेत्रीले ३ हजार रुपियाँ हात पार्नु भयो ।

कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थी र सिद्ध माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियारले खादा–माला बन्द गरी घरआँगनमा फुलेका फूलद्वारा अतिथिलाई स्वागत गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, वडा सदस्यहरू बलराम पौडेल, आशिष भण्डारी, सेतीमाया गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता वडा सचिव युवराज पौडेलले सञ्चालन गर्नु भएको थियो भने निर्णायक मण्डलमा लोकदोहोरी गायिका सीता केसी, कृष्ण सुवेदी र माया थापा रहनु भएको थियो । कार्यक्रममा करिब ६ सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News