मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

तीज गीत प्रतियोगिता एवम् शुभकामना आदानप्रदान

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका-१७ को आयोजनामा “उद्यमशीलता विकास तथा नेतृत्वमा महिला सहभागिता” विषयक मौलिक तीज गीत प्रतियोगिता तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ भदौ ५ गते विरौटास्थित ग्यालेक्सी पार्टी प्यालेसमा सम्पन्न भयो ।

(प्रतियोगितामा पहिलो भएको नारी शक्ति जागरण आमा समूह, घारीपाटनलाई पुरस्कृत गर्दै)

कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख मञ्जुदेवी गुरुङले तीजलाई परम्परागत मौलिक गीतमार्फत पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याउँदै संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले यस्ता प्रतियोगिताले अन्धविश्वास, विभेद अन्त्य गरी समतामूलक समाज निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गर्नु भयो ।

वडा अध्यक्ष राधिका शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य शिवराम भण्डारी, तारा परियार, विष्णुकुमारी थापा, बिक्रम गुरुङ, वडा सचिव सुरेन्द्रप्रसाद शर्मा, पत्रकार सुष्मा पौडेल, गायक पुरुषोत्तम न्यौपाने, समाजसेवी उर्मिला खड्का, बिना लोहनी, रिता सुवेदी, उत्तम सिग्देल, बैकुण्ठ भण्डारी, प्रवित्रा रेग्मी, राधादेवी लम्साल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

१६ समूहमध्ये १२ समूहले प्रतिस्पर्धा गरेका प्रतियोगितामा नारी शक्ति जागरण आमा समूह, घारीपाटन पहिलो, जनजागरण आमा समूह दोस्रो, सिद्धार्थ नमुना आमा समूह तेस्रो र शितल चौतारी आमा समूहले प्रोत्साहन पुरस्कार प्राप्त गरे । विजेतालाई वडा अध्यक्ष शाहीले पुरस्कार वितरण गर्नु भयो ।

उत्कृष्ट भेषभूषामा तल्लो विरौटा आमा समूह र उत्कृष्ट नृत्यतर्फ मेलमिलाप आमा समूह विजयी भए ।

पुरस्कार राशी क्रमशः पहिलो १५ हजार रुपियाँ, दोस्रो १० हजार रुपियाँ, तेस्रो ७ हजार रुपियाँ, प्रोत्साहन पुरस्कार ४ हजार रुपियाँ तथा उत्कृष्ट भेषभूषा र नृत्यलाई ३-३ हजार रुपियाँ रहेको थियो । सहभागी सबै समूहलाई प्रमाणपत्रसहित १-१ हजार रुपियाँ प्रदान गरिएको थियो ।

निर्णायक मण्डलमा शान्ति गुरुङ, बालु पुन, करण लामा र दिलीप गायक रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रभा खत्रीले गर्नुभएको थियो ।

लेबेनी गार्डेन मन्टेश्वरीका बालबालिकाले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमको सुरुवात गरिएको थियो ।

करिब ४ सय ५० जना सहभागी भएको कार्यक्रममा आमा समूह, दिदीबहिनी समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News