ललितपुर । “सहकारिता मार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण” भन्ने नारासहित क्रियाशील दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा लोगो सार्वजनिक गरिएको छ ।
संस्थाले २०८२ भदौ २ गते आयोजना गरेको कार्यक्रममा रजत वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको हो ।
संस्थाका अध्यक्ष गोविन्द बजगाइँले विगतको यात्रालाई मूल्याङ्कन गर्दै आगामी दिनमा सामुदायिक विद्युतीकरणलाई अझ सशक्त ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपालकै पहिलो विद्युत सहकारीका रुपमा स्थापित यस संस्थाले सामुदायिक विद्युत सेवाको २१ वर्ष पूरा गरेको छ ।
सहकारीले २०५४ असोज ७ गते सामुदायिक विद्युतीकरण अभियान प्रारम्भ गरेको थियो भने २०५७ साउन १७ गते औपचारिक रुपमा सहकारी स्थापना भई २०६२ भदौ २ गते देवीचौरबाट विद्युत सेवा प्रारम्भ गरेको हो ।
लोगो सार्वजनिक कार्यक्रममा संस्थापक अध्यक्ष डिल्ली घिमिरे, पूर्व अध्यक्षहरु गोपाल सञ्जेल र रामकृष्ण हुमागाइँ, बागमती प्रदेश सहकारी सङ्घका अध्यक्ष रामशरण शर्मालगायत वक्ताहरुले सहकारीले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै रजत वर्षलाई जागरण र विस्तारको अवसरका रुपमा लिनुपर्नेमा जोड दिनु भयो ।