मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जनभावना क्याम्पसद्वारा मन्त्री पौडेललाई बधाई तथा शुभकामना

ललितपुर । जनभावना क्याम्पस चापागाउँले २०८२ भदौ २ गते बागमती प्रदेशका नव नियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेललाई क्याम्पसको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ ।

मन्त्री पौडेल जनभावना क्याम्पस सभाका सदस्य समेत हुनुहुन्छ । मन्त्री पौडेलले आफूले भ्याएसम्म क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा मन्त्री पौडेलले क्याम्पसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर जिल्ला बागमती प्रदेशकै दूध उत्पादनमा दोस्रो स्थानमा रहेको जानकारी दिनु भयो ।

तर, विगतका वर्षयता गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण दूध उत्पादनमा कमी आएको उल्लेख गर्दै उहाँले रोग नियन्त्रणका लागि चौघरेबाट सुरु गरिएको भ्याक्सिन कार्यक्रम एक सातासम्म प्रदेशका सबै जिल्लामा सञ्चालन हुने बताउनु भयो ।

त्यस्तै, कृषकहरू अहिले मल अभावको समस्यामा परेको भन्दै त्यसको समाधान केन्द्रीय सरकारमार्फत गर्ने धारणा राख्नु भयो ।

“म जनताको जनप्रतिनिधि हुँ । जनताले पाउने सेवा–सुविधा उनीहरूको सल्लाह र सुझावअनुसार अघि बढ्नेछु ।”-मन्त्री पौडेलले भन्नु भयो ।

जनभावना क्याम्पसका सञ्चालक समिति अध्यक्ष रविन्स शर्माले सामुदायिक क्याम्पसहरूलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले विशेषगरी छोरी–बुहारी अध्ययन गर्ने जनभावना क्याम्पसलाई प्रदेश सरकारले महत्वपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

जनभावनना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले मन्त्री पौडेललाई बधाई दिँदै बागमती प्रदेशका किसानको हितमा काम गर्ने अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष नीलबहादुर देशार, वडा नम्बर १३ का वडाध्यक्ष भास्कर थापा, अन्य जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूले मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

Author

Related News