ललितपुर । गाईभैंसीमा फैलिँदै गएको लम्पी स्किन डिजिजबाट जोगाउन बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको आयोजनामा सञ्चालन भएको खोप अभियानको शुभारम्भ २०८२ भदौ १ गते बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यतामा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, चौघरेबाट गरिएको हो ।
अभियान अन्तर्गत बागमती प्रदेशका सबै १३ ओटै जिल्लाका १ सय १९ स्थानीय तहमा एकसाथ खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
यस अभियानमार्फत गाईभैंसीमा फैलिएको लम्पी रोगको जोखिम न्यूनीकरण गर्न प्रदेशभर १ लाख २० हजार डोज खोप लगाउने लक्ष्य रहेको बताइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पशुपालन र कृषिमा आश्रित किसानको जिविकोपार्जनमा लम्पी रोगले गम्भीर असर पारिरहेको हुँदा यस खोप अभियानलाई गम्भीरताका साथ सफल बनाउन सबै सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो-“हामीले किसानको मिहिनेतलाई सुरक्षित गर्न खोप अभियानलाई तीव्रता दिएका छौं । सबै स्थानीय तहमा यो अभियान सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

लम्पी रोग लार्भा र किरामार्फत सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो जसले गाईभैंसीमा छालामा गाँठा, ज्वरो, दूध उत्पादनमा गिरावट जस्ता लक्षण देखाउँछ ।
समयमै रोकथाम नगरिए ठूलो आर्थिक क्षति निम्त्याउन सक्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाइएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयले सम्बन्धित स्थानीय तह र पशुसेवा कार्यालयसँग समन्वय गरेर खोप अभियानलाई प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।

अभियानको मुख्य उद्देश्यहरूमा गाईभैंसीमा लम्पी रोगको सङ्क्रमण दर घटाउने, किसानको जिविकोपार्जनलाई सुरक्षित राख्ने र पशु स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने रहेको कार्यक्रममा बताइयो ।
यो अभियानलाई प्रदेशभरी व्यापक जनचेतना, तालिम र अनुगमनसहित सफल बनाउने तयारी गरिएको पनि जानकारी दिइएको छ ।