पोखरा । पर्यटनको राजधानी, सुन्दरतालाई आत्मसात् गरेको पोखरा शहर। यसै शहरभित्र अवस्थित पोखरा महानगरपालिका वडा नं. ५, केवल भौगोलिक रूपमा मात्र होइन, सुशासन र नागरिकमैत्री सेवाको दृष्टान्त प्रस्तुत गर्ने नमुना वडाको रूपमा पहिचान बनाउँदै गएको छ ।
१.७८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो वडा, सराङकोट डाँडाको बेशी भूभागमा रहेको, समथर र मलिलो जमिनका कारण कृषि उत्पादनका लागि पनि अनुकूल छ ।
कुल २२ हजार ६ सय ६० जनसङ्ख्या (पुरुष ११,१५७ र महिला ११,५०२) भएको यो क्षेत्रमा ३४९३.८ जनसङ्ख्या घनत्वका साथ शहरीकरणको चाप बढ्दो छ ।
तर, बढ्दो जनसङ्ख्या र सेवाको मागबीच पनि वडा नं. ५ ले भौतिक संरचना, सेवा–सुविधा र पारदर्शितामा गरेको लगानीले यसलाई अन्य वडाबाट फरक बनाएको छ।
वडा नं. ५ ले नागरिक सेवामा सहजता ल्याउन अत्याधुनिक सुविधा सम्पन्न भवन विकास गरेको छ ।
अन्डरग्राउन्ड पार्किङ, अपाङ्गतामैत्री संरचना, लिफ्ट, शुद्ध खानेपानी, नि:शुल्क इन्टरनेट, विपद् सामग्री कक्ष र वातावरणमैत्री डिजाइन-यी सबैले सेवाग्राहीलाई आधुनिक, सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउँछन् ।
विशेषगरी अपाङ्गतामैत्री संरचना र स्तनपान कक्ष निर्माणको पहल, महिला, बालबालिका र मानवअधिकारमैत्री नेतृत्वको परिचायक हो।
वडामा सेवा लिन आएका नागरिकलाई ‘फोटोकोपी ल्याउनुहोस्’ वा ‘निवेदन बाहिर टाइप गर्नुहोस्’ भन्ने बाध्यता छैन ।
फोटोकोपी, प्रिन्ट र निवेदन लेखनजस्ता साना तर महत्वपूर्ण सहयोगहरू नि:शुल्क उपलब्ध गराइन्छन् ।
वडाअध्यक्ष विष्णुप्रसाद बराल भन्नुहुन्छ-‘नागरिकले तिरेको राजस्व नागरिककै सेवामा खर्च हुनु स्वाभाविक हो ।‘
नेपालका जुनसुकै स्थानका नागरिक आएर वडा नं. ५ मा आफ्नो सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक नवीकरण सहजै गर्न सक्छन् ।

यसका लागि वडाले सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पोखरासम्म ल्याउने व्यवस्था मिलाएको छ, जसले नागरिकलाई नगरपालिकासम्म धाउनुपर्ने बाध्यता घटाएको छ । यसबाट समय, श्रम र खर्चमा उल्लेख्य कमी आएको छ ।
वडाले पुस्तकालय स्थापना प्रक्रियामा अघि बढेको छ, जसमा पोखरा–५ र आसपासका साहित्यकार, कलाकार र लेखकका कृति सङ्ग्रह गरिने जनएको छ ।
यसले स्थानीय सांस्कृतिक पहिचान जोगाउनुका साथै पर्यटकका लागि जानकारी केन्द्रको भूमिकासमेत खेल्नेछ ।
वडा नं. ५ ले वार्षिक रूपमा ‘वडा दर्पण’ नामक पुस्तक प्रकाशन गर्दै आएको छ, जसमा विकास-निर्माणको इतिहास, अवस्था, उपलब्धि र आगामी योजना विस्तृत रूपमा प्रस्तुत हुन्छ ।
सातौँ अङ्कसम्म पुगिसकेको यो प्रकाशन सम्भवतः पोखराका ३३ वडामध्ये नियमित सूचना प्रकाशन गर्ने एक मात्र उदाहरण हो ।
सभाकक्ष नि:शुल्क उपलब्ध गराउने नीति, समुदायका सङ्घसंस्थासँग प्रत्यक्ष सहकार्य, र स्थानीयको कार्यक्रममा समर्थन-यी सबैले वडालाई केवल सेवा प्रदायक मात्र नभई समुदायको साझेदार बनाएको छ।
वडाअध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा, पाँच जना जनप्रतिनिधि र १४ कर्मचारीको टिमले नागरिक सेवामा पारदर्शिता, दक्षता र आत्मीयता मिसाएर सुशासनको कार्यान्वयन देखाएको छ ।
वडाको यो कार्यशैलीले देखाउँछ-जब नेतृत्वमा इच्छाशक्ति र सेवाप्रति प्रतिबद्धता हुन्छ, तब स्थानीय सरकारको अर्थपूर्ण प्रभाव जनताले प्रत्यक्ष अनुभव गर्न सक्छन् ।
पोखरा महानगरपालिका वडा नं. ५ ले देखाएको नागरिकमैत्री सेवा र पारदर्शी शासनको उदाहरणले देशका अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिन सक्छ ।
यहाँको अनुभवले पुष्टि गर्छ-सुशासन कुनै नारा मात्र होइन, सही नेतृत्व, स्पष्ट प्राथमिकता र नागरिकप्रति संवेदनशील दृष्टिकोण भएमा व्यवहारमै उतार्न सकिन्छ ।