ललितपुर । जनैपूर्णिमाको अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक कुम्भेश्वर मन्दिरमा २०८२ साउन २४ गते विशेष मेला लागेको छ ।
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो रातदेखि सुरु हुने यो मेला दिनभरि धुमधामका साथ सञ्चालन हुन्छ ।
स्थानीय विश्वासअनुसार, बङ्गलामुखी मन्दिर परिसरमा अवस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने जनैपूर्णिमाको मेला किराँत कालदेखि निरन्तर सञ्चालन हुँदै आएको हो ।
मेलाको प्रमुख आकर्षणका रूपमा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिपूर्वक पूजापछि बाजा–गाजासहित कुम्भेश्वर मन्दिर परिसरको परिक्रमा गराइन्छ ।
परिक्रमा सम्पन्न भएपछि गौरीकुण्डबाट पाटन ल्याइएको पवित्र जलले मुकुटलाई स्नान गराई खटमा राखेर पूजा गरिन्छ । यही क्षणलाई जनैपूर्णिमा वा रक्षाबन्धनको औपचारिक आरम्भ मानिन्छ ।
जनैपूर्णिमाका दिन पोखरीको बिचमा राखिएको सर्वेश्वर महादेवको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
महादेव जलमा विराजमान भएको प्रतीकस्वरूप यो मुकुटलाई मन्दिर परिसरको पोखरीमा स्नान गराइएपछि पुनः पूजा गरी पोखरीको बिचमा राख्ने परम्परा रहिआएको छ ।