ललितपुरमा परीक्षण गरिएका २८ पानी नमुनामध्ये ११ मा मानव वा जनावरको दिसाबाट फैलिने फिकल कोलिफर्म भेटिएको छ ।
दूषित पानी गोदावरी नगरपालिका र माहांकाल गाउँपालिकाका स्रोत तथा जारबाट सङ्कलन गरिएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार यस्तो पानी टाइफाइड, झाडापखाला र हैजाको कारण बन्न सक्छ, त्यसैले उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन सुरक्षित हुन्छ ।
गोदावरीका १० मध्ये ६ जार पानीमा र माहांकालका पाँचै नमुनामा कोलिफर्म भेटिएपछि सम्बन्धित निकायलाई कारबाहीको लागि पठाइएको बताइएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षातमा बाढीका कारण हैजाको जोखिम बढ्ने भएकाले सर्तकता अत्यावश्यक छ ।
हैजाका प्रारम्भिक लक्षणमा तारन्तार दूधिलो पातलो दिसा, बान्ता, मांसपेशी बाउँडिनु र बेचैनी पर्दछन् । लक्षण देखिए तत्काल जीवनजल पिउन र अस्पताल पुग्न डा. पुनले सुझाव दिनु भएको छ ।
मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले हेलचेक्र्याँइ नगर्न र आवश्यक शतर्कता अपनाउन तथा नागरिकलाई सुसूचित गर्न तीनै तहका सरकारसँग अधिकारकर्मीहरूले माग गरेका छन् ।