पोखरा । “जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” को नारासहित दलित महिला सङ्घ (फेडो)कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा डिजिटल साक्षरता र साइबर अपराधसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले साइबर अपराधमा विषेशत सोही स्थानमा काम गर्ने कामदार, बिद्रोही/प्रतिस्पर्धीहरू, विद्यार्थीहरु, ह्याकर ग्रुप, विभिन्न ठुला कम्पनीहरु, सङ्गठित अपराधमा लागेकाहरूले अपराध बढी मात्रामा गरेको अनुसन्धान तथा तथ्याङ्कहरूले देखाएको बताउनु भयो ।
उहाँले विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ दफा ४७ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने उल्लेख गर्नु भयो ।
ओलीयाका अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

महिला, ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख प्रहरी निरिक्षक सरला ढकालले अपराधबाट बच्न अभिभावक तथा भाइबहिनीहरुले गर्नु पर्ने कार्यहरुमा आफ्ना सन्तानको फ्रेण्ड लिष्ट चेक गर्ने, आफू पनि सन्तानको फ्रेण्ड बन्ने, सन्तानले सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर र अन्य फोटोहरु पब्लिक राख्दा निगरानी गर्ने तथा सामाजिक सञ्जालमा प्राईभेसी तथा सेक्युरिटी सेटिङ मिलाउनु पर्ने बताउनु भयो ।
उहाँले सामाजिक सञ्जालमा व्यक्तिगत जानकारीहरू राख्न नहुने बताउनु भयो । धेरै समय सामाजिक सञ्जालमा बसिरहनाले लत लाग्न सक्ने हुँदा इन्टरनेट प्रयोग गर्ने समय सिमा भित्र रहनु पर्नेमा उहाँले सुझाउनु भयो ।
सामाजिक सन्जाल प्रयोग गर्दा फेसबुकमा फोटोहरु धेरै नराख्ने, समय-समयमा फेसबुक, इमेलको पार्सपड परिवर्तन गर्नु पर्नेमा पनि जोड दिनु भयो ।
२०८२ साउन १६ र १७ गते सञ्चालित अभिमुखिकरणमा प्रहरी निरिक्षक सरला ढकाल, प्रहरी नायब निरिक्षक रवि आर्चाय र प्रहरी जवान कमल भट्टराईले सहजिकरण गरिरहनु भएको छ ।
दलित महिला सङ्घकी कार्यक्रम संयोजक इश्वरी बिकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गर्नु भएको अभिमुखिकरण कार्यक्रममा फेडोका कार्य समिति सदस्य, महिला अगुवा कार्यकर्ता, जनप्रतिनिधिसहित ३२ जनाको सहभागिता रहेको छ ।