मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

व्यवसायमा मानवीय संवेदनशीलता आवश्यकतामा जोड

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र शक्ति समूहको संयुक्त आयोजनामा “मनोरञ्जन तथा सत्कार व्यवसायमा कार्यरत श्रमिकमा परेको प्रभाव र असरः सरोकारवाला निकायहरूको भूमिका” विषयक एक दिवसीय कार्यशाला गोष्ठी २०८२ साउन १५ गते पोखरामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शक्ति समूहले विगत २८ वर्षदेखि मानव बेचबिखनको विरुद्धमा गर्दै आएको योगदानलाई प्रशंसनीय भन्दै श्रमिकहरूको अभिभावकत्व ग्रहण गरेको उल्लेख गर्नुभयो।

उहाँले सरकारले श्रमिकको सुरक्षामा प्रतिबद्धता जनाएको र सबै सरोकारवाला निकायको समन्वयमा सुधारात्मक काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। “कानुनको पालना भयो भने समस्या होइन, समाधान धेरै छन् ।” मन्त्री पाठकको भनाइ थियो।

शक्ति समूहका संस्थापक अध्यक्ष चरिमाया तामाङले संस्थाले महिला तथा बालबालिकामाथिको हिंसा, मानव बेचबिखन र जोखिम न्यूनीकरणमा केन्द्रित रही सात जिल्लामा काम गरिरहेको जानकारी दिनु भयो ।

शक्ति समूहले २०५४ सालदेखि हालसम्म ७७ जिल्लामा जोखिममा परेका किशोरी तथा महिलाको उद्धार, संरक्षण, र पुनर्स्थापनामा उल्लेखनीय कार्य गर्दै आएको पनि उनले बताइन् । २०२३/२४ को अवधिमा मात्रै १ सय १० जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको जानकारी गराएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पहारी र श्यामराजा महत, प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, मानव अधिकार आयोगका नितु गर्तौला, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले व्यवसाय मर्यादित, मानव केन्द्रित र कानुनी दायराभित्र सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

उनीहरूले श्रमिकलाई नियुक्ति पत्र दिने, सामाजिक सुरक्षा कोषको पालना गर्ने, पारिश्रमिक सुनिश्चित गर्ने, सेवा प्रदायक र सेवाग्राहीबिच आचारसंहिता लागू गर्ने र मनोरञ्जन क्षेत्रमा शिष्ट, अनुशासित व्यवहार कायम गर्नुपर्नेमा उहाँहरूको जोड छ ।

कार्यक्रममा शक्ति समूह गण्डकी प्रदेश संयोजक सरिता पौडेलले सङ्गठनका पाँच प्रमुख कार्यक्षेत्र–जीविकोपार्जन, रोकथाम, वकालत, क्षमता अभिवृद्धि र संरक्षणबारे जानकारी दिनु भयो ।

उनले समन्वयमा नीति निर्माणदेखि पीडितको पुनःस्थापनासम्मका क्रियाकलापहरू सशक्त रूपमा अघि बढाइएको बताउनु भयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले मानव बेचबिखन नियन्त्रणमा सरकारका नीतिगत, संरचनागत र कार्यक्रमगत प्रयासहरूबारे सहजीकरण गर्नुभयो।

उहाँले लैङ्गिक हिंसा निवारण कोष, पुनःस्थापना केन्द्र, कानुनी सहायता सेवा, उद्यमशीलता प्रवर्धन, सीप विकास तालिम लगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे जानकारी दिनुभयो।

मानव बेचबिखनका प्रमुख कारणहरूमा गरीबी, अशिक्षा, रोजगारीको अभाव, सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग, प्रेम सम्बन्धको भ्रम, घरेलु हिंसा, लैङ्गिक विभेद, दाइजो प्रथा आदि रहेको उल्लेख गर्दै अधिकारीले बहुआयामिक र समन्वयात्मक पहल आवश्यक रहेको बताइन्।

कार्यक्रम शक्ति समूहकी सचिव मुना तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सामाजिक विकास महाशाखाका अधिकृत देवी शर्माले गर्नुभएको थियो।

Author

Related News