मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

‘नागरिकको आवाज कमजोर हुँदा चिन्ता’ !

पोखरा । नागरिक तथा मानवअधिकारकर्मीको आवाज क्रमशः कमजोर हुँदै आएको विषयमा चिन्ता व्यक्त गर्दै मानवअधिकार संरक्षण मञ्च (मासम) कास्कीले आफ्नो ४१औँ स्थापना दिवस २०८२ साउन १३ गते पोखरामा मनाएको छ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष डा. विश्वकल्याण पराजुलीले मासमले २०४१ साल साउन १३ गतेदेखि राजनीतिक आस्थाका बन्दी, पछाडि पारिएका समुदाय र मानवअधिकारका सवालमा लगातार आवाज बुलन्द गर्दै आएको स्मरण गर्नु भयो ।

उहाँले मासमले मौनधर्ना, निर्वाचन अनुगमन, कारागारका बन्दीहरूको स्वास्थ्य र बसोबास अवस्थाको मूल्याङ्कन, खानेपानी र सीप अभावका समस्यामा चासो राख्दै समुदायस्तरमा मानवअधिकार सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

डा. पराजुलीले २०४९ सालमा ४० जना जोताहा मजदुरहरूको हकअधिकार सुनिश्चित गर्न दुई दिने सचेतना तालिम सञ्चालन गरिएको अनुभव सुनाउँदै हाल देशमा सुशासन कायम राख्न राजनीतिक दलहरूलाई ठूलो चुनौती रहेको बताउनु भयो ।

प्रजातन्त्रको स्थापनापछि अधिकारका सवालमा मासमको माध्यमबाट महत्त्वपूर्ण योगदान गर्ने दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर, प्रकाश काफ्ले, सुशील प्याकुरेल र बद्रीप्रसाद खतिवडाको योगदानलाई उहाँले स्मरण गर्नु भयो ।

मासमका केन्द्रीय महासचिव डा. श्रीकान्त शर्मा खतिवडाले गणतन्त्रपश्चात् राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरू कानूनी रूपमा स्थापित भए पनि कार्यान्वयन कमजोर देखिएको बताउनु भयो ।

उहाँले शासन सञ्चालनदेखि अधिकार उपभोगसम्म बिचौलिया र दलाल प्रवृत्ति हावी भएको कारण मानवअधिकार उल्लङ्घन बढेको र लैङ्गिक, जातीय र अवसर उपभोगका सवालमा अझै समस्याहरू समाधान हुन नसकेको बताउनु भयो ।

डा. खतिवडाले यसलाई सम्बोधन गरी आवश्यक पहलकदमी लिनु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्नु भयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मासमको स्थापनाकालदेखि नै मानवअधिकारको पक्षमा महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो।

उहाँले सङ्घीय र प्रदेश सरकारलाई मानवअधिकार रक्षकको हितका लागि नीतिगत सुधार र कानुनी आधार बलियो बनाउन निरन्तर बहस र पैरवी आवश्यक रहेको बताउनु भयो।

मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष मानवअधिकारकर्मी मधु पन्थीले विगतमा जस्तै आज मानवअधिकारकर्मी र नागरिक समाजको आवाज प्रभावकारी र निष्पक्ष देखिन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो।

उहाँले यो आवाज क्रमशः कमजोर हुँदै जानु दुःखद् भएको र यसको गरिमा जोगाउनु आजको प्रमुख चुनौती रहेको बताउनु भयो ।

मासमका संस्थापक उपाध्यक्ष नन्दु श्रेष्ठले इतिहास केवल जित्नेहरूको मात्र योगदान लेखिने परम्परा तोडेर हार्नेहरूको योगदान पनि उतिकै महत्वपूर्ण भएकाले त्यसको लेखाजोखा राखिनु पर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, गण्डकी अध्यक्ष कमल अर्याल, प्राध्यापक गेहेन्द्रशेवर कोइराला, कास्की अध्यक्ष धुब्रसिं थापा र सचिव दानबहादुर गुरूङले शुभकामना व्यक्त गर्दै अधिकारसँगै कर्तव्यबोधको महत्त्वमा जोड दिनु भएको छ ।

Author

Related News