टर्कीको इस्तानबुलमा २०८२ साउन ७ गते भएको वार्ता पछि रुस र युक्रेन बन्दी रिहा गर्नका लागि सहमत भएका छन्।
इस्तानबुलमा आधा घण्टा भन्दा छोटो समयमा सकिएको वार्तामा यस्तो सहमति भएको अल जजिराले जनाएको छ ।
युद्ध विरामका लागि प्रयास भने दुई देशका राष्ट्रपतिको भेटमा नै अघि बढ्ने जनाइएको छ।
टर्कीमा वार्ता जारी रहेकै समयमा पनि रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण गर्न भने छाडेको छैन।
बुधबारको वार्तापछि युक्रेनको नेतृत्व गरिरहेका पूर्व रक्षा मन्त्री रुस्तम उमेरोभले अगस्टको अन्त्यमा वार्ताको प्रस्ताव गरेको बताउनु भयो ।
युक्रेनले पूर्ण युद्ध विराम प्रस्ताव गरेको छ भने रुसले अल्पकालीन युद्ध विरामको प्रस्ताव गरेको छ।
रुसले सुरुमा २४ देखि ४८ घण्टाको युद्ध विराम गर्दै शवको खोजी गर्ने र घाइतेको उद्धारमा सक्रिय हुने योजना अघि ल्याएको छ।
दुवै टोली २ सय ५० बन्दी रिहा गर्न सहमत भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। निकट भविष्यमा नै थप १ हजार २ सय बन्दी रिहा गर्ने कुरामा पनि सहमति भएको छ।
मे र जुन महिनामा भएको वार्तामा पनि बन्दी रिहा गर्ने सहमति भएको थियो।