मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

वरको चौतारीमा छलफल, उदाउँदै गिम्दीको उज्यालो सपना

ललितपुर । बाग्मती गाउँपालिका–७, गिम्दी, सदरमुकाम पाटनबाट पल्लो छेउमा छ । तर, पछिल्लो समय गिम्दीको कथा वल्लो छेउको जस्तै विकास, आत्मनिर्भरता र सक्रिय जनजीवनको परिचय बन्न थालेको छ।

प्रेस चौतारी ललितपुरले २०८२ साउन ३ गते गिम्दीको नारायण डाँडामा रहेको ऐतिहासिक वरको चौतारीमा आयोजना गरेको ‘वडामा चौतारी’ कार्यक्रममा वडा अध्यक्ष होमप्रसाद बजगाईँले गिम्दीका सपना र वास्तविकतालाई प्रस्तुत गर्नु भयो ।

वडा अध्यक्ष बजगाईँका अनुसार गिम्दीको प्रमुख चुनौती भूगोल हो, तर त्यसलाई पार गरेर यहाँको सम्भावनालाई उजिल्याउन वडाले सशक्त अभियान अघि बढाएको छ।

उहाँका शब्दमा, सकारात्मक सोच र एकताबाट काम गरे सफलता असम्भव छैन। शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रमदेखि लिएर शैक्षिक अवलोकन भ्रमणसम्म, गिम्दीको शिक्षामा नयाँ दृष्टिकोण भित्र्याउन वडाले विशेष पहल गरिरहेको उहाँले बताउनु भयो ।

अहिले दुई माध्यमिक,  पाँच आधारभूत र दुई इसीडी गरी नौ ओटा विद्यालय सञ्चालनमा छन्। नौ ओटा विद्यालयमा लगभग ६ सय विद्यार्थी अध्ययनरत छन् ।

कृषि पेशा गिम्दीको पर्याय हो । स्थानीय उत्पादनशीलता बढाउन वडाले गएको वर्ष मात्रै १४ ओटा ट्याक्टर कृषकलाई वितरण गर्‍यो।

त्यसैगरी ३५ जना अगुवा कृषकका लागि आवश्यक कृषि सामग्री वितरण गर्दै खेतबारीमा आधुनिक प्रविधि ल्याउने प्रयास गरिएको वडाध्यक्ष बजगाईँले बताउनु भयो ।

वडाले पर्यटन र प्राकृतिक सम्पदाको विकासलाई पनि समान महत्त्व दिएको छ। चमेरे गुफा जाने बाटोको स्तरोन्नति र मगर गाउँमा होमस्टे सञ्चालन योजनाले गिम्दीको पर्यटन सम्भावनालाई थप सजीव बनाएको छ।

वडाध्यक्ष बजगाईँका अनुसार खुर्मीवेशी, बाँझोगाउँ र चमेरे गुफामा प्रतिक्षालय बनाइएको छ । यि मध्ये उचो ठाउँमा भएकाले बाँझोगाउँको प्रतिक्षालयले भ्यु टावरको काम गर्छ ।

प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुइटेलले ‘वडामा चौतारी’ कार्यक्रमको दोस्रो संस्करण गिम्दीमा आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो ।

वरको चौतारीमा आयोजित कार्यक्रममा २ सय ६० जनाभन्दा बढी नागरिकसहित वडावासीको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो।

यसअघि २०८२ असार १३ गते प्रेस चौतारीले वडामा चौतारी कार्यक्रम गोदावरी नगरपालिका–१३ झरुवाराशीमा आयोजना गरेको थियो ।

गिम्दीको कथा र व्यथा अब केवल भौगोलिक कठिनाइको छैन, यो आत्मनिर्भरता, सामूहिक प्रयास र उज्यालो भविष्यको सपना बनिरहेको छ।

Author

Related News