ललितपुर । निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। २०८२ कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको हो।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, स्वीकृत कार्यतालिकाअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने छ। कार्यतालिका अनुसार यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
यसैगरी, उम्मेदवारविरुद्ध उजुरी दिने मिति असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।
यसै दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुकी ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ तथा निर्णय गर्ने प्रक्रिया चल्ने आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले असोज २३ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका तय भएको आयोगले जनाएको छ।
