मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

विवादका कारण राजीनामा दिन बाध्य ११ मन्त्री, सबैभन्दा बढी अर्थमन्त्री

ललितपुर । नेपालको समसामयिक राजनीतिक इतिहासमा नैतिकता र सार्वजनिक दबाबका कारण राजीनामा दिनुपरेका मन्त्रीहरूको सङ्ख्या ११ पुगेको छ । एक जना प्रधानमन्त्रीले पनि विवादका कारण राजीनामा दिएको जनाइएको छ ।

तीमध्ये सबैभन्दा धेरै पटक विवादमा परेर अर्थमन्त्रीहरू नै राजीनामा दिन बाध्य भएको तथ्याङ्कले देखाउँछ ।

हालै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सार्वजनिक भएको अडियो प्रकरणपछि राजीनामा दिनु भएपछि यो सङ्ख्या ११ पुगेको हो ।

उहाँले ७८ लाख रुपियाँको घुस ‘डिल’मा संलग्न रहेको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचनाबिच राजीनामा दिनु भएको हो ।

यसअघि २०७९ सालमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि पदबाट हट्नु भएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करको दर हेरफेर प्रकरणले उहाँलाई राजीनामा दिन बाध्य बनाएको थियो । संसदीय छानबिन समिति गठन गरिएपछि शर्माले राजीनामा दिनुभएको थियो ।

त्यसैगरी २०५६ माघमा अर्थमन्त्री महेश आचार्यले गभर्नर नियुक्तिमा असहमति जनाउँदै पद छाड्नु भएको थियो भने २०५३ साउनमा अर्थमन्त्री डा. रामशरण महतले विदेशी बैङ्क खातासम्बन्धी आरोपपछि राजीनामा दिनु भएको थियो ।

यसले देखाउँछ कि अर्थ मन्त्रालय नेपालको राजनीतिको संवेदनशील र विवादग्रस्त क्षेत्र हो । राष्ट्रको आर्थिक नीति निर्माण र कार्यान्वयनको जिम्मेवारी लिने यस मन्त्रालयमा हुने हरेक निर्णय राजनीतिक विवादको केन्द्र बन्ने गरेको छ ।

त्यसैगरी, समयक्रमअनुसार अन्य मन्त्रीहरू पनि विवादमा पर्दै पद त्याग गर्न बाध्य भएका छन् ।

अन्य विवादित राजीनामाहरू

  • २०७६ सालमा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस डिलको अडियो सार्वजनिक भएपछि राजीनामा दिनु भएको थियो ।
  • २०७४ मा कानुन मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा अध्ययन गर्ने नेपाली छात्राबारे दिएको विवादास्पद अभिव्यक्तिपछि पद गुमाउनु भएको थियो ।
  • २०७२ मा कृषिमन्त्री हरि पराजुलीले धान दिवसमा महिलामाथि अभद्र व्यवहार गरेको भिडियो बाहिरिएपछि राजीनामा दिनु भएको थियो ।
  • २०६८ मा भूमिसुधार मन्त्री प्रभु साह हत्या प्रकरणमा मुछिएपछि हटाइएका थिए भने रक्षामन्त्री शरतसिंह भण्डारीले “तराई छुट्याउन कानुनले रोक्दैन” भन्ने विवादित अभिव्यक्तिपछि पद त्याग गर्नु भएको थियो ।

पञ्चायतदेखि बहुदलसम्म: राजीनामा सिलसिला पुरानै

पञ्चायती शासनकालमै सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०३० सालमा राजीनामा दिनुभएको थियो ।


०४५ सालमा त्रिपुरेश्वर रङ्गशालामा भागदौड हुँदा ७० जनाको मृत्यु भएपछि शिक्षा तथा संस्कृति मन्त्री केशरबहादुर विष्टले नैतिक जिम्मेवारी लिँदै पदत्याग गर्नु भएको थियो ।

२०४६ को परिवर्तनपछि गठन भएको सरकारकी कृषिमन्त्री शैलजा आचार्यले २०४९ मा सार्वजनिक रूपमा कमिसनखोरहरूको आलोचना गरेपछि प्रधानमन्त्रीले राजीनामा माग्नु भएको थियो ।

Author

Related News