मधु पन्थी, पोखरा ।
नेपालको पर्यटकीय राजधानी पोखरामा आउने चिनियाँ पर्यटकहरूलाई लक्षित गरी नेपाल पर्यटन बोर्डको सहकार्य तथा “समृद्धिका लागि पर्यटन” भन्ने नारा सहित स्थापित संस्था नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशकोसञ्चालन गरिएको आयोजनामा ४५ दिने चिनियाँ भाषा तालिमको २०८२ असार ३० गते समापन भएको नाट्टाका अध्यक्ष किशोर दहालले जानकारी दिनु भयो ।
कार्यक्रमका नेपाल पर्यटन बोर्ड, पोखराका प्रमुख मनिराज लामिछानेले पर्यटन व्यवसायलाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूलाई समावेश गरेर चिनिया भाषा तालिम आयोजना गरिएको बताउनु भयो ।
उहाँले यो तालिम बहुउपयोगी र समसामयिक भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता तालिमलाई अझ परस्कृत गर्दै लैजानु पर्नेमा जोड दिनु भयो।
पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पुर्याउने उद्देश्यका साथ ४५ दिने आधारभूत चिनिया भाषा तालिम सञ्चालन गरिएको र तालिममा चिनियाँ प्रशिक्षकद्वय रिहा र हानले सहजिकरण गर्नु भएको नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीले बताउनु भयो ।

समापन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई, नाटाका पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम अधिकारीलगायतले भाषा तालिमले पर्यटनलाई पुनरोत्थान गरेको बताउनु भयो ।
उहाँहरूले पर्यटनमैत्री नीति अवलम्बन गर्न र पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरू तय गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
तालिममा सहभागी प्रशिक्षार्थी सङ्गीता अधिकारीले ४५ दिनसम्म सिकेका कुरालाई चिनियाँ भाषामा लिपिबद्व गरी प्रस्तुत गर्नु भएको थियो भने पोखरामा क्रियाशील ८४ जना पर्यटन व्यवसायीहरूले यो तालिममा सहभागिता जनाएका थिए ।