मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

६ महिनामा काभ्रेपलाञ्चोकमा १ सय १३ घटना अभिलेख

काभ्रेपलाञ्चोक । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलित घटनाको अर्धवार्षिक पूर्व–समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ३० गते बनेपामा सम्पन्न भएको छ ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो ६ महिनाको मानवअधिकार अवस्थाका विविध पक्षमाथि समीक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जनजाति समुदायमा शिक्षाको पहुँच कमजोर भएकै कारण हिंसाका घटना बढी देखिने गरेको धारणा राख्नु भयो ।

सङ्क्रमणकालीन न्याय संयन्त्रहरू कमजोर भएकाले द्वन्द्वपीडितहरू अझै न्यायबाट वञ्चित भएको उल्लेख गर्दै उहाँले आर्थिक सशक्तिकरण र जनचेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्ने बताउनु भयो ।

मानवअधिकार सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले महिला र बालबालिकाका विषयहरू मानवअधिकारका प्रमुख सवालका रूपमा रहेको बताउनु भयो ।

उहाँका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा काभ्रेपलाञ्चोकमा १ सय १३ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना इन्सेकमा अभिलेखित भएका छन्। तीमध्ये ५३ ओटा घरेलु हिंसाका घटना छन् ।

द्वन्द्वपीडित पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्या भएको लामो समय बित्दासमेत न्याय नपाएको दुखेसो पोख्नु भयो।

उहाँले सर्वोच्च अदालतको आदेश हुँदा पनि अनुसन्धान नगरेको र अदालतले पूर्णपाठ नदिएको विषयमा गम्भीर चिन्ता व्यक्त गर्नु भयो।

द्वन्द्वपीडित मनकुमारी रञ्जितले पीडितहरूको घरमै पुगेर अवस्था बुझ्ने प्रयास हुनुपर्ने बताउँदै धेरै महिलाहरू माइतमा बसेको, मानसिक समस्याबाट ग्रस्त भएको र औषधि सेवन गर्नुपरेको उल्लेख गर्नु भयो।

महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख रञ्जिता कार्कीले हिंसापीडित महिलाहरूलाई न्याय दिलाउन सरोकारवाला सङ्घसंस्थाले सहकार्य गर्नुपर्ने बताउनु भयो ।

माइती नेपाल काभ्रेकी संयोजक गायत्री गौतमले वैदेशिक रोजगारीको बाध्यता र सचेतनाको अभावका कारण महिला तथा बालबालिका बेचबिखनको जोखिममा रहेको जानकारी दिनु भयो।

महिला अधिकारकर्मी कल्पना विश्वकर्माले महिलाहरू नागरिकता पाउन कठिनाइ झेलिरहेकोले पनि उनीहरू हिंसामा पर्ने सम्भावना बढी हुने बताउनु भयो।

अधिकारकर्मी निर्मला काफ्लेले सुरक्षित गृह मात्र पर्याप्त नभई संरचनागत सुधार आवश्यक रहेको बताउँदै मानवअधिकारका घटनाहरू सङ्ख्या मात्र होइन, प्रभावको हिसाबले पनि विश्लेषण गर्नुपर्ने औँल्याइन्।

पत्रकार राजकुमार पराजुलीले अघिल्ला वर्षका घटनाहरूको अध्ययन गरी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। उनले टाढाका बस्तीबाट हिंसाका घटना प्रहरीसम्म नपुग्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अध्यक्षता गैरसरकारी संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गङ्गा दोङले गर्नु ऐएको थियो भने सञ्चालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले गर्नु भएको थियो ।

Author

Related News