मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

समन्वय र साझेदारीले मात्रै समाधान सम्भव: प्रहरी उपरीक्षक ओलिया

मधु पन्थी, पोखरा ।

‘समुदायसँग सँगसँगै’ भन्ने नारासहित अगाडि बढिरहेको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६औँ स्थापना दिवसको अवसरमा साइबर अपराध, लागूपदार्थ न्यूनिकरण र यसले बालबालिकामा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भयो।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्रमुख वक्ताका रूपमा बोल्दै विद्यालय स्तरमै छात्रछात्रा, शिक्षक र अभिभावकलाई लक्षित गरी यस्ता सचेतनामूलक कार्यक्रम गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्नु भयो ।

प्रहरीले गर्दै आएको अभियानमा मानवअधिकार एलाइन्सको सक्रियता प्रशंसनीय भएको बताउँदै उहाँले समस्या समाधानका लागि प्रहरी मात्र होइन, स्थानीय समुदाय, सामाजिक संस्था र आम नागरिकको समन्वय आवश्यक रहेको उल्लेख गर्नु भयो ।

प्रहरी उपरीक्षक ओलियाले कास्कीमा किशोर–किशोरीहरू लागूपदार्थतर्फ आकर्षित हुने दर बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी, विद्यालय र समुदायबिच समन्वयमा बहस, अन्तरक्रिया र पैरवी जारी राख्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बरालले विद्यालयलाई मानव निर्माणको स्थल बताउँदै आचार, अनुशासन र नैतिक शिक्षाको अभ्यास आवश्यक भएको उल्लेख गर्नु भयो ।

उहाँले जनताको पीडा अन्त्य गर्ने दायित्व प्रहरीको भएको भन्दै यसको निर्वाहका लागि प्रहरी संस्था सदैव तयार रहनुपर्ने धारणा राख्नु भयो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहा, मानवअधिकार एलाइन्सकी केन्द्रीय सदस्य सबनम शर्मा लगायतले साइबर अपराध, लागूपदार्थ न्यूनिकरण, बालअधिकार र आर्थिक अपराधबारे सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा ‘असल छिमेकी सहयोग सङ्घ’ (गोनेसा) को सहकार्यमा जानकी माध्यमिक विद्यालयलाई एक थान स्मार्ट टेलिभिजन सेट हस्तान्तरण गरिएको थियो।

यसै अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङ र गोनेसाका महासचिव श्यामनाथ कुँवरले यस्ता कार्यक्रम समुदायस्तरमै निरन्तर चलाउनु पर्ने आवश्यकता औँल्याउनु भयो।

कार्यक्रमको अध्यक्षता मानवअधिकार एलाइन्स गण्डकी अध्यक्ष डा. बुद्धिबहादुर थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल र सञ्चालन एलाइन्सका जिल्ला अध्यक्षले गर्नु भएको थियो ।

Author

Related News