मधु पन्थी, पोखरा ।
विगत २५ वर्षदेखि सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय सामाजिक संस्था असल छिमेकी सहयोग सङ्घ (गोनेसा) ले आर्थिक रूपले अति कमजोर परिवारका ५ सय ५५ बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ।
भिस्पे इटालीको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम अन्तर्गत कास्की, स्याङ्जा र पर्वत जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई कापी, कलम, झोला, जुत्ता, मोजा लगायत सामग्री प्रदान गरिएको हो।
शैक्षिक सामग्री वितरण समारोहमा गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै भन्नुभयो-“शिक्षा प्राप्तिको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुनुहुँदैन ।”
उहाँले शिक्षा सुनिश्चित गर्न राज्यका तीनओटै तह-सङ्घ, प्रदेश र स्थानीय सरकारहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
“कानुनले आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क भनेको छ। त्यसको कार्यान्वयन नभए सरकारलाई दबाब दिने र जबाफदेही बनाउने दायित्व हाम्रो हो ।”-सांसद कार्कीले भन्नुभयो।
संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार यस वर्ष पनि गोनेसाले कास्की जिल्लाका शुक्रराज बलभद्र मावि, विन्ध्यवासिनी मावि, पार्दी मावि, जानकी मावि, छोरेपाटन मावि, इन्द्रराज्य मावि, जनप्रिय मावि, नवप्रभात मावि, साहारा प्रावि, सृजना प्रावि, मसिना आधारभूत विद्यालय र स्याङ्जा जिल्लाको सितला माविमा अध्ययनरत ४ सय ३० जना विद्यार्थी तथा पर्वत जिल्लाको जनक मावि, लाकुरी प्रावि र धौलागिरी प्राविमा अध्ययनरत १ सय २५ जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो।

अध्यक्ष सुवेदीले बालबालिकालाई असल संस्कार र नैतिक शिक्षा परिवारबाट नै प्रदान गर्नु पर्ने भएकाले अभिभावकलाई सुसंस्कृत वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।
संस्थाका कार्यकारी निर्देशक शिवराज शर्माले गोनेसाले हरेक वर्ष जाडो महिनामा न्यानो कपडासहित दुईपटक शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, गोनेसाका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिलबहादुर गुरुङ लगायतले बालअधिकार र शैक्षिक सहायताको महत्वबारे धारणा राख्नु भएको थियो ।