ललितपुर । रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ।
मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा भुटानलाई विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर क्रिजमै नआएकाले नेपाललाई विजेता बनाइयो ।
भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन हाने । उता ओपनर उयोग छोफेल १० रनमै आउट भए । भुटानका अरू कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन दिँदै ४ विकेट झारे । सचिन भट्ट र सुयोग भट्टराईले समान २/२ विकेट झारे ।
त्यसअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल चुनौती खडा गरेको थियो ।
नेपाललाई विशाल लक्ष्यतिर लैजाने क्रममा रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए ।