भक्तपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा पीयर इडुकेटरहरूको क्षमता अभिवृद्धि, तीन वर्षे अनुभव र सिकाइ आदानप्रदान तथा आगामी कार्यदिशासम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाअन्तर्गत परिचालित पीयर इडुकेटरलाई लक्षित गरी असार १२ र १३ गते नगरकोटमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ललितपुर जिल्लाका देवीचौर, घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार र इकुडोल गाउँका पीयर इडुकेटर र समुदाय सहजकर्ताहरूको सहभागिता थियो।
तीन वर्षदेखिको कार्य अनुभव, सिकाइका अभ्यासहरू र आगामी दिनमा सुधार र सशक्तिकरणका उपायहरूबारे छलफल तथा प्रस्तुति गरिएको कार्यक्रममार्फत सहभागीहरूको क्षमता अभिवृद्धि गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागी सबै पीयर इडुकेटरलाई ‘रिकोड’ले प्रशंसापत्र र मायाको चिन्ह प्रदान गरेको थियो।
प्रशंसापत्र वितरण रिकोडकी उपाध्यक्ष रचना महर्जन र कार्यकारी निर्देशक रामहरी घिमिरेले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा परियोजनाकी संयोजक कुन्जना पाण्डेले सहभागी सबैलाई धन्यवाद दिँदै तीन वर्षदेखिको सक्रिय सहभागितालाई कदर गर्नुभयो।
कार्यक्रमले समुदायस्तरमा काम गरिरहेका स्वयंसेवकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै भावी कार्ययोजनाका लागि मार्गनिर्देशन गरेको आयोजक संस्था रिकोडले जनाएको छ।