मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिटी रिक्साको लाइसेन्स लिँदा लिखित परीक्षा दिनु नपर्ने

विराटनगर। कोशी प्रदेशमा सिटी रिक्साको चालक परिचयपत्र (लाइसेन्स) लिँदा लिखित परीक्षा दिनुपर्ने व्यवस्था परिवर्तन भएको छ।

विराटनगरमा २०८२ असार ११ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गर्दै सिटी रिक्साको लाइसेन्स लिँदा लिखित परीक्षा दिनुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो।

मन्त्रिपरिषद्को बैठक पश्चात निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले स्वीकृत नियमावलीले यातायात क्षेत्रमा रहेका विकृति विसङ्गति नियन्त्रण गर्न सजिलो हुने अपेक्षा प्रदेश सरकारले लिएको जानकारी दिनु भयो।

उहाँले नियमावलीले लाइसेन्स लिने प्रक्रिया, सिटी रिक्सा दर्ता प्रक्रियाहरूमा सुधार हुने आशा गरिएको समेत बताउनु भयो।

मन्त्री भण्डारीले लाइसेन्स लिने बेला लिखित परीक्षाको सट्टा सिटी रिक्सा चालकहरूले ट्राफिक नियम प्रशिक्षण भने अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको बताउनु भएको छ।

लामो समय देखि सिटी रिक्साको दर्ता, सवारी चालकको लाइसेन्स प्रक्रियामा लिखित परीक्षाको स्थानमा सहज प्रावधान राख्नु पर्ने लगायतको विषयमा वकालत गर्दै आइरहेको संस्था विकल्प एन अल्टरनेटिभका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले लिखित परीक्षाको व्यवस्था परिवर्तन गरि लाइसेन्स प्रक्रिया सहज बनाएकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नु भएको छ।

उहाँले तराईको अधिकांश जिल्लाको सिटी रिक्सा संचालनमा रहेको बताउँदै कोशी प्रदेश सरकारले गरेको निर्णय अन्य प्रदेशको लागि समेत मार्गदर्शन हुने बताउनु भयो।

अधिकारीले प्रदेश सरकारको निर्णयले सिटी रिक्सा चालकहरूको जीविकोपार्जनलाई थप सहज र दुर्घटना भएको खण्डमा बिमामा हुने झन्झट समेत सहज ढङ्गले समधान हुने विश्वास लिएको धारणा व्यक्त गर्नु भयो।

Author

Related News