ललितपुर । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा २०८२ असार १० गते भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका शिवाङ्श बजगाईँले सर्वाधि ३८ रन जोड्नु भयो । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाउनु भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।
जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाउनु भयो । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिनु भयो ।
यो जितसँगै नेपालले दुई खेलबाट ४ अङ्क जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अङ्क छ । नेपालले आफ्नो तेस्रो खेल २०८२ असार १५ गते आइतबार इन्डोनेसियासँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।