मधु पन्थी, पोखरा ।
एसओएस बालग्रामले सन् १९८७ देखि हरमन माइनरको जन्मदिन अर्थात् प्रत्येक वर्ष जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
यसै सन्दर्भमा एसओएस बालग्राम गण्डकीको आयोजना ३९ औं अन्तर्राष्ट्रिय एसओएस दिवस २०८२ असार ९ गते एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बालग्रामले अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरी बालबालिकाको भविष्य उज्ज्वल बनाएको बताउनु भयो ।
बानियाँले दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी बालबालिकाहरूलाई पुरस्कार वितरण तथा सम्मान गर्नु भयो ।
उहाँले बालग्रामका आमा समूह र २५ वर्ष भन्दा बढी संस्थामा सेवा गरेका एसओएस हरमन माइनर विद्यालय गण्डकीका कर्मचारी गोपालप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार कृष्णप्रसाद बास्तोलाले एसओएस मानवीय सेवा पुर्याउने संस्थाको रूपमा संसारमा प्रसिद्ध रहेको बताउनु भयो ।
पोखराका १२ विद्यालय सहभागी भएका ‘सामाजिक सञ्जालः अभिषाप कि वरदान’ विषयक अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा गण्डकी बोर्डिङकी एञ्जेलिना केसी पहिलो, शिशु निकेतनकी अक्रिषा पोखरेल दोस्रो, एसओएसकी स्मारिका न्यौपाने तेस्रो र मदरल्याण्डका विशेष बरालले सान्त्वना स्थान हासिल गरे ।
पृथ्वीनारायण क्याम्पसका अङ्ग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपाने, प्रमुख निर्णायक शिव त्रिपाठी तथा एसओएस हरमन माइनर विद्यालय गण्डकीका प्रिन्सिपल चुडामणी सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
‘निर्जीव वस्तु चित्रकला’ मा पोखराका २० विद्यालयले भाग लिएका थिए । जसमा करूणानिधि एजुकेसन फाउण्डेसनका प्रिन्स थापा पहिलो, सगरमाथा निकेतनका विश्वास सुवेदी दोस्रो, रेन्वो एकेडेमी होम्स्का आदर्श रोका तेस्रो र एसओएसका तेन्जिङ लेच्सोले सान्त्वना पुरस्कार पाए ।
एसओएस बालग्राम गण्डकीकी उप-निर्देशक भवानी बस्नेतको स्वागत मन्तव्य र विद्या पराजुलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।