ललितपुर । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत २०८२ असार ५ गते राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा मात्र चार विकेटको क्षतिमा सहजै पार गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्नु भयो । उहाँले ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको योगदान दनु भयो ।
त्यस्तै, आरिफ शेखले पनि आक्रामक ब्याटिङ गर्दै २३ बलमा ३ चौका र २ छक्का सहित ३९ रन बनाउनु भयो।
यद्यपि, गोडामा समस्या देखिएपछि उहाँ रिटायर्ड हुन बाध्य हुनु भयो । भीम सार्की, जसले आजको खेलमार्फत टी–२० आईमा डेब्यू गर्नु भयो । उहाँले १६ बलमा २ चौका र १ छक्का सहित २७ रन बनाउनु भयो ।
कप्तान रोहित पौडेलको ब्याट खासै चलेन, उहाँ ७ बलमा ५ रनमै आउट हुनु भयो । दीपेन्द्र सिंह ऐरीले १६ तथा लोकेश बमले १२ रनको योगदान दिनु भयो ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
नेदरल्याण्ड्सका माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का सहित उत्कृष्ट ८६ रन बनाउनु भयो । उहाँलाई नेपालका करण केसीले आउट गर्नु भएको थियो ।
रोएलफ भ्यान डेर मेर्वे ३६ रनमा नटआउट रहनु भयो भने आर्यन दत्तले १७ र साकिब जुल्फिकारले १४ रन बनाउनु भयो ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै २ विकेट लिनु भयो । दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले समान १–१ विकेट लिनु भयो ।
यस जितसँगै नेपाल प्रतियोगिताको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले २०८२ असार ६ गते घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्नेछ।