मधु पन्थी, पोखरा ।
सहकारी संस्थाहरूको स्तरीकरण र समग्र विकासका लागि आवश्यक छलफल तथा मूल्याङ्कन गर्न पोखरामा आयोजित समिक्षा गोष्ठी २०८२ असार २ गते सम्पन्न भएको छ ।
कार्यक्रम सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीलाई सक्षम र सशक्त बनाउने विविध उपायहरूबारे बृहत् छलफल गरिएको थियो ।
राष्ट्रिय सहकारी बैङ्क गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले सहकारी स्तरीकरणका लागि आवश्यक तत्वहरूबारे जानकारी दिनु भयो ।
उहाँले कर्जा जोखिमको गणना, कर्जा सुरक्षण, बचत तथा व्याज व्यवस्थापन, ऐन–नियमको पालना, शेयर सदस्यप्रति उत्तरदायित्व, पूँजीकोषको निर्माण, निस्क्रिय सदस्य व्यवस्थापन र स्थिर सम्पत्ति व्यवस्थापनजस्ता पक्षहरूलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
सहकारीको प्रभाव बजारमा आर्थिक गतिशीलता ल्याउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै केही कमजोर सहकारीका कारण सिर्जिएको नकारात्मक छविलाई सुधार्न सबै सहकारी इमान्दारीपूर्वक ‘मेरो सहकारी, राम्रो सहकारी’ नीतिमा अघि बढ्नुपर्ने सहभागिहरूको भनाइ थियो ।
सहकारी प्रणाली जन्मदेखि मृत्युसम्म नागरिकको मित्र भएको उदाहरण अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको सहभागीहरूले उल्लेख गरे ।
गोष्ठीका सहजकर्ता तथा सहकारी प्रशिक्षक सूर्यप्रसाद रिमालले सहकारीहरूको स्तरीकरणका लागि देशैभर प्रशिक्षण, प्राविधिक सहयोग र आवश्यकता अनुसार कर्जा प्रवाहमार्फत राष्ट्रिय सहकारी बैंकले सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी गराउनु भयो ।
गोष्ठीको निष्कर्षमा सहकारीहरूलाई परिणाममुखी बनाउँदै सहकार्यको भावना मजबुत बनाउने तथा सहकारी सङ्घसंस्थाहरूलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि.क अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।