मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गण्डकीको बजेट प्रेसमैत्री

मधु पन्थी, पोखरा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रेसमैत्री बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङद्वारा प्रस्तुत बजेटमा पत्रकारिता तथा सञ्चारसम्बद्ध क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रदेश सरकारले सञ्चारमाध्यम तथा पत्रकारको सशक्तिकरणका लागि विभिन्न शीर्षकमा करिब ५ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत वर्ष आमसञ्चार विधेयक ल्याएर गण्डकीमा प्रेस रजिष्ट्रार नियुक्तिसँगै नियमावली पनि पारित गरिसकेको सरकारले अब प्रेस रजिष्ट्रारको कार्यालय सुदृढीकरण, सञ्चारमाध्यम दर्ता, नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनमार्फत उपलब्ध गराउने कार्यका लागि करिब २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।

त्यस्तै, लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमलाई निरन्तरता दिँदै श्रमजीवी पत्रकारको क्षमता विकास, सञ्चारमाध्यम सबलीकरण, समुन्नत गण्डकी रेडियो कार्यक्रमलगायत शीर्षकमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा आमसञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यसहित महिलाका लागि मिडिया स्टार्टअप कार्यक्रम, पत्रकार कल्याणकारी कोष, अग्रज पत्रकार सम्मान, अनुभव अभिलेखीकरण र सञ्चार संस्था प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको छ ।

यस्तै, पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, लेखनवृत्ति कार्यक्रम, तथा सामाजिक सुरक्षाको दायरामा ल्याइएका सञ्चार संस्थालाई प्रोत्साहन स्वरूप सहयोग बजेट समेत विनियोजन गरिएको छ ।

प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार, सरकारको यस कदम प्रेसमैत्री वातावरण निर्माणमा महत्वपूर्ण छ। उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष पहलमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना भएसँगै बजेट विनियोजन सम्भव भएको उल्लेख गरिन् ।

पत्रिकामा कार्यरत पत्रकारदेखि रेडियोका प्राविधिकसम्मलाई लक्षित गरी दक्षता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ। साथै, नेपाल खेलकुद पत्रकार मञ्चको पोखरा स्पोर्टस् अवार्ड तथा चलचित्र पत्रकार संघ कास्कीको ‘सिनेमा संवाद’ कार्यक्रमलाई समेत बजेटको व्यवस्था गरिएको छ ।

विगतमा नीति तथा योजनामा सञ्चार क्षेत्रलाई कम प्राथमिकता दिइएको उल्लेख गर्दै, यसपटकको बजेटले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन सकारात्मक संकेत दिएको भण्डारीको भनाइ छ ।

Author

Related News