ललितपुर । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपासको मुख्य संरचना निर्माण कार्य सम्पन्न भएको छ। अब केही सामान्य बाँकी कामहरू सम्पन्न गरेपछि सार्वजनिक यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सडक विभागका पदाधिकारीहरूसहित २०८२ जेठ ३१ गते निर्माणस्थलको स्थलगत निरीक्षणमा पुग्नु भएको थियो ।
निरीक्षणपछि मन्त्री दाहालले ग्वार्को ओभरपासको निर्माण प्रक्रिया नौलो अभ्यास भएको भन्दै प्रारम्भिक ढिलाइ भएको स्वीकार गर्नु भयो । यद्यपि उहाँले मन्त्रालयले यस्ता अधुरा पूर्वाधार योजनाहरूलाई प्राथमिकता दिएको बताउँदै बाँकी काम चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
निरीक्षणकै क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले ओभरपासको मुख्य संरचना तयार भइसकेको जानकारी दिँदै केही दिनमै सार्वजनिक सवारीका लागि सञ्चालनमा ल्याइने बताउनु भयो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार ओभरपासको बिच भागमा डिभाइडर राख्ने र अन्य सामान्य स्तरका कामहरू अझै बाँकी छन् ।
उहाँका अनुसार बाँकी कार्य आगामी दुई-तीन दिनभित्र सम्पन्न गरी यातायात सञ्चालनका लागि खुला गरिने योजना छ।