मधु पन्थी, पोखरा।
पोखरामा रहेको अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमाथि विद्यालयकै एक शिक्षकले गरेको शारीरिक तथा मानसिक यातनाप्रति बालअधिकार र मानवअधिकारकर्मीद्वारा २०८२ जेठ २६ गते प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
जेठ २५ गते कम्प्युटर शिक्षक दिपक दाहालले कक्षा १० ख मा पढ्ने १५ वर्षीय छात्रलाई देव्रे कन्चटमा मुड्किले हिर्काएको पीडित बालकले आरोप लगमएका छन् ।
शिक्षक दाहालको कुटाईबाट विद्यार्थीको अनुहारमा पनि चोट लागेको छ । घाइते बालकको उपचार पार्कल्याण्ड अस्पतालमा गरेर घर फर्किएको अभिभावकले जनाएका छन् ।
विज्ञप्तिमा घाइते विद्यार्थीको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ । संविधानको धारा ३९ (७) र बालबालिकासम्बन्धी ऐन २०७५ का प्रावधानहरू उल्लङ्घन भएको भन्दै प्रेस विज्ञप्तिमा घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा व्याख्या गरिएको छ ।
विद्यालय, घर वा जुनसुकै स्थानमा बालबालिकालाई यातना दिन नपाइने कानुनी व्यवस्था छ, र त्यस्ता कार्य गरेमा दण्डनीय हुने प्रष्ट उल्लेख गरिएको छ ।
सङ्गठनहरूले बालबालिकामाथि विद्यालयमा हुने हिंसालाई सामान्यीकरण गर्ने प्रवृत्तिले यस्ता घटनालाई थप प्रश्रय दिइरहेको बताएका छन्।
साथै, विद्यालयहरूमा बालसंरक्षण मापदण्ड लागू नभएको र गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी नहुँदा बालबालिका अझै पनि असुरक्षित रहेको उल्लेख गरिएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विद्यालयहरूलाई बालमैत्री र बालसुरक्षित वातावरण बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन तथा सम्बन्धित सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरिएको छ ।
सबै विद्यालयमा ‘विद्यालय शान्ति क्षेत्र’ को राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका लागू गर्न जोड दिइएको छ ।
हस्ताक्षर गर्ने संस्थाहरूमा मानवअधिकार एलाइन्स कास्की, असल छिमेकी सहयोग सङ्घ (गोनेसा), इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा, चिल्ड्रेन नेपाल, बालअधिकार मञ्च, सिजोप राष्ट्रिय अभियान, शिक्षाका लागि राष्ट्रिय अभियान, सिविन नेपाल पोखरा र बालहितकारी नेपाल रहेका छन् ।