विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकमसहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा २०८२ जेठ २६ गते १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रदेशका खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडीलाई व्यक्तिगत, टिम स्पर्धामा प्रथम हुने टिमलाई १ लाख नगद सहित प्रशिक्षक र व्यवस्थापकलाई समेत उचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्व दिँदै सरकारको नीति तथा कार्यक्रममा आन्तरिक र बाह्य खेल प्रतियोगिता तथा अभ्यास गर्ने गरि ‘कोशी प्रदेश खेलग्राम’ निर्माणको योजना र तयारी गरेको बताउनु भयो।
उहाँले प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा खेलग्राम निर्माण हुने जानकारी दिनु भयो।
त्यस्तै, बिदाई कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले मौसमको प्रतिकूलता र छोटो समयको सूचना र अन्योलताको बाबजुद खेलाडी छनोट गर्न सफल भएको भन्दै खेलाडी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।
मन्त्री राईले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई महत्वको क्षेत्रको रुपमा लिएकोले खेलाडीहरूलाई निर्धक्क भएर खेल्न आग्रह गर्नु भएको थियो।
खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीलाई प्रोत्साहन, सम्मान र सम्मानजनक वातावरणमा खेल खेल्ने माहोल उपलब्ध गराउने उद्देश्य साथ बोर्डले गतिविधि गरिरहेको बताउनु भएको थियो।
बस्नेतले गत वर्षझैँ यस पटक पनि राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लगायतलाई सम्मान गर्ने योजना रहेको जानकारी दिनु भएको थियो।
उहाँले राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगितामा घाइते हुनुभएका खेलाडीहरूको उपचारको सम्पूर्ण जिम्मा बोर्डले लिने समेत बताउनु भएको थियो।
बस्नेतका अनुसार जेठ २८ गतेदेखि ३० गतेगते सम्म काठमाडौँमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर १ सय १५ जनाको सहभागिता रहने छ।