रुद्रबहादुर खड्का, सिन्धुली ।
शिक्षा क्षेत्रमा देखिएको दूरदर्शिता, नवप्रवर्तन, र गुणस्तरीय सुधारको उच्च कदर गर्दै सिन्धुली जिल्लाको मरिण गाउँपालिकालाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपालद्वारा “उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित गरिएको छ।
यो सम्मान पानको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्गत २०८२ जेठ २३ गते पोखराको सभा गृहमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो ।
सम्मेलनको मुख्य नाराका रुपमा “नेतृत्वका नयाँ परिभाषा: विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ” प्रस्तुत गरिएको थियो। कार्यक्रममा देशभरिका शिक्षाविद्, नीति निर्माता र शैक्षिक सरोकारवाला सहभागी थिए।
सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानलाई पुरस्कार हस्तान्तरण गरिएको थियो। पानका अध्यक्ष सुदामप्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकामाथि गरिएको मूल्याङ्कनमा मरिण बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका ठहरिएको हो।
प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले तय गरेका २५ वटा शैक्षिक मापदण्डको आधारमा गरिएको मूल्याङ्कनमा मरिणले विद्यालय प्रशासनमा पारदर्शिता, शिक्षाको गुणस्तर अभिवृद्धि, सिर्जनात्मक कार्यशैली र नेतृत्व क्षमतामा उल्लेखनीय प्रगति हासिल गरेको पाइएको छ।
मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले यो उपलब्धि सम्पूर्ण मरिणवासीको साझा प्रयास र सफलताको नतिजा भएको बताउँदै यसले आगामी दिनमा शिक्षण सिकाइ र समावेशी शैक्षिक विकासमा थप उत्प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार गाउँपालिकाले स्मार्ट प्रविधिको प्रयोग, निःशुल्क र समावेशी शिक्षा, छात्रवृत्ति कार्यक्रम, कक्षा ११–१२ मा अध्ययनरत छात्रालाई साइकल वितरण, स्नातक उत्तीर्ण अविवाहित किशोरीलाई नगद पुरस्कार, मानवअधिकार तथा बालअधिकारसम्बन्धी तालिम सञ्चालन लगायतका कार्यहरू गर्दै आएको छ ।
बालविवाह न्यूनीकरणलाई उच्च प्राथमिकता दिएको बताउँदै अध्यक्ष मोक्तानले गाउँपालिकाभित्र विवाह गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरिएको जानकारी दिनुभयो।