ललितपुर । बागमती नदीको बगुवामा अस्थायी बेलिब्रिज जडान भएपछि काठमाडौँ-हेटौँडा र हेटौँडा-काठमाडैँ जोड्ने कान्ति लोकपथ २०८२ जेठ २५ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।
बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आज बिहान १० बजेदेखि पुलमार्फत सवारीसाधन सञ्चालनमा आएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
गएको असोज १२ गते आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि सवारीसाधन डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको थियो ।
तर, डाइभर्सनमा राखिएका ह्युमपाइपहरू सानो बाढीले पनि बगाउने गरेका कारण यात्रुहरूलाई निरन्तर समस्या हुने गरेको थियो ।
बेलिब्रिज जडानको कामका लागि हालै चार दिनसम्म राजमार्गसहित डाइभर्सन मार्गसमेत बन्द गरिएको थियो।
कान्ति लोकपथ सडक आयोजनाका प्रवक्ता इञ्जिनियर उपेन्द्र महराका अनुसार जडान गरिएको बेलिब्रिजको भारवाहन क्षमता अधिकतम ३० टन रहेको छ।
मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई भारी सवारीसाधनको निगरानी गर्न पत्रसमेत पठाइएको जनाइएको छ।
मालबाहक सवारीसाधनका हकमा एकपटकमा एकतर्फी रुपमा मात्र पुल पार गर्न दिइने व्यवस्था गरिएको छ। अधिकतम कुल वजन ३० टन र प्रतिएक्सल वजन १० टन ननाघ्ने गरी सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।
स्थायी पुल पुनर्निर्माणको प्रक्रिया अघि बढाउने तयारीसँगै हालको बेलिब्रिजले यात्रा केही सहज बनाउने आशा गरिएको छ। (फोटोः प्रकाश लामा)