मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दाजूको हत्यामा आममाफी पाएका व्यक्तिले गरे पूर्वपत्नीसहित तीन जनाको हत्या

साङ्केतिक तस्वीर

देउखुरी । दाजूको हत्या गरेर जेल बसेर केही वर्षअघि आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीनजनाको हत्या गरेको समाचार छ ।

बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बस्दै आउनु भएकी ३४ वर्षीया दीपा बस्याल र उहाँका चार र सात वर्षका दुई छोरीहरूको हत्या गरिएको हो ।

सम्बन्ध विच्छेदपछि अर्को व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर २०८२ जेठ १४ गते बिहान करिब ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिनु भयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । घटनापछि कोइरालालाई प्रहरीले पक्रेको छ ।

सबैभन्दा चकित पार्ने पक्ष के हो भने, प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

यो घटनाले “कस्ता व्यक्तिहरूलाई आममाफी दिने भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता”लाई बलियो बनाएको छ ।

गम्भीर प्रकृतिका अपराधमा संलग्न, विशेषतः हत्या घटनामा आममाफी दिँदा समाजमा कस्तो प्रभाव पर्न सक्छ भन्ने उदाहरण यो घटनाले देखाएको छ ।

मानवअधिकारकर्मीहरू र कानुन विज्ञहरू समेतले गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिहरूलाई आममाफी नदिने स्पष्ट मापदण्ड बनाइनु पर्ने आवाज उठाउँदै आएका छन् । तर, यस्ता घटनाले देखाउँछ, नीतिगत तहमा अझ गहिरो छलफल आवश्यक छ ।

यसैबीच, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ र पीडित परिवारलाई न्याय दिलाउन आवश्यक सबै कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

यो घटनाले कानुनी प्रक्रिया र माफी नीतिबारे गम्भीर प्रश्न उठाएको छ– आखिर, कस्ता पात्रलाई आममाफी दिइन्छ?

Author

Related News