मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गण्डकी प्रदेशमा अस्पताल स्तरोन्नति, सेवा सुधार र शैय्या सङ्ख्या दोब्बर गर्ने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । २०८२ जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप नौ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

यसअघि दुई आयुर्वेदिक अस्पताल सहित चार अस्पतालको स्तरोन्नति गरिएको थियो। स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकका अनुसार मनाङ र मुस्ताङ प्रदेश अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । हाल दुवै अस्पतालको क्षमता १५ शैय्या मात्रै छ ।

पर्वत, स्याङ्जा र दमौली प्रादेशिक अस्पताललाई १५ बाट ५० शैय्यामा स्तरबृद्धि गरिने छ । २५ शैय्याको क्षमता रहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिनेछ ।

पोखराको जनरल तथा सरुवा रोग अस्पताललाई २५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बागलुङको धौलागिरि प्रादेशिक अस्पताल र नवलपुरको मध्य विन्दु प्रादेशिक अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ ।

धौलागिरि अस्पतालमा हाल ५० शैय्या र मध्य विन्दु २५ शैय्या क्षमतामा चलिरहेका छन् । चालू वर्षदेखि नै गोरखाको आँप पिपल अस्पताल र बागलुङको बुर्तीबाङ अस्पताल प्रदेश मातहत ल्याएर ५० शैय्या क्षमतामा सञ्चालन गरिएको छ ।

धौलागिरी आयुर्वेद अस्पताल बागलुङ र गण्डकी आयुर्वेद अस्पताल पोखरालाई पनि यसअघि नै २५ शैय्यामा स्तरोन्नति गरिएको थियो। स्तरोन्नति पूर्व २ सय २० शैय्या रहेको यहाँका अस्पतालको शैय्या क्षमता ३ सय २५ थियो ।

अब भने स्वीकृत शैय्या ६ सय ५० र स्वीकृत दरबन्दी सङ्ख्या ८सय २७ हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताउनु भयो।

एक सय शैय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गरिएको र  प्राविधिक विषय अध्ययन प्रक्रियालाई समेत अघि बढाउने मन्त्री पाठकको भनाइ छ।

Author

Related News