ललितपुर । वितेका १० महिनामा देशभरि झण्डै ४ हजार विरोध प्रदर्शन कार्यक्रम भएका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा दैनिक १३ भन्दा बढी विरोधका कार्यक्रम भए ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी रमेश थापाले बितेका १० महिनामा १२ हड्ताल, १२ चक्काजाम, ८ सय १६ तालाबन्दी, ७ सय ८२ धर्ना, १ सय ३४ अनसन, १ सय १८ बाटो अवरोध र २ हजार ८९ विरोध र्यालीसहित ३ हजार ९ सय ६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएको जानकारी दिनु भयो ।
उहाँका अनुसार प्रदर्शनका यो समयमा देशभरि ७६ सवारीमा आगजनी र ३१ सवारीमा तोडफोड भएको थियो । विरोध तथा प्रर्दशनको क्रममा भौतिक पूर्वाधारतर्फ ४० करोड ७५ लाख रुपियाँभन्दा बढी र सवारी साधन तोडफोड, आगजनीतर्फ ९ करोड ५० लाख रुपियाँभन्दा बढी गरेर ५० करोड २५ लाख रुपियाँभन्दा बढी क्षति भएको छ ।
यो समयमा प्रहरीले ६ सय ६६ जनालाई नियन्त्रणमा लिएको डिआइजी थापाले जानकारी दिनु भयो । थापाका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५ सय ३० जनालाई सामान्य तारिखमा छाडिएको थियो भने १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याइएको छ ।
जसमध्ये सङ्गठित अपराधमा ६५ जना, राज्यविरुद्ध तथा सङ्गठित अपराधमा २७ जना, अभद्र व्यवहारमा २४ जना, हुलदङ्गा गर्न नहुने र आपराधिक उपद्रवमा १८ जना र आपराधिक उपद्रवमा २ जना रहेका छन् ।