मधु पन्थी, बागलुङ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजवाद उन्मुख शैक्षिक नीति बनाउन नसक्दा शिक्षा क्षेत्रमा समस्या देखा परेको बताउनु भएको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको २०८२ जेठ ५ गते उद्घाटन गर्दै मन्त्री पाठकले सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरेपनि अपेक्षा अनुसारको प्रतिफल दिन नसकेको बताउनु भयो ।
मुलुकमा लोकतन्त्र स्थापना पश्चात व्यवस्था बद्लिए पनि समाजवाद उन्मुख व्यवहारिक शिक्षा लागु हुन नसकेको चर्चा गर्दै राज्यले व्यवस्था अनुसारको व्यवहारिक शैक्षिक नीति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय जनताको स्वास्थ्य र शिक्षाप्रति सजग रहेको मन्त्री पाठकले भनाइ छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, कुँडुले सेवा समाजका अध्यक्ष प्रेमप्रसाद आचार्य, पुर्व व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटा, लायन नारायण आचार्य, अभिभावक यामकली सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक–अभिभावकको भूमिका रहेको चर्चा गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाता र अक्षय कोषदातालाई सम्मान गरिएको थियो ।