ललितपुर । नेपाली सांगीतिक क्षेत्रमा जीवन दर्शन र पारिवारिक भावनालाई समेटिएको नयाँ भजन “घरै मन्दिर बनाउँछु” सार्वजनिक गरिएको छ ।
साधारण ग्रामीण परिवेशमा आधारित यस भजनले तीर्थ वा बाहिरी धर्मस्थल जानु मात्र धर्म नभएर आफ्नै घर, परिवार र आमाबुबाको सेवा नै साँचो पूजा हो भन्ने सन्देश दिएको छ ।
भिडियोको सुरूवातमा गाउँले परिवेश देखिन्छ जहाँ काका र भतिजाबिचको संवादबाट कथावाचन सुरु हुन्छ ।
बुढेसकालले छोइसकेको र थकानका कारण भजन गाउन मन्दिर जान नसक्ने काकाले बताएपछि भतिजासहितको युवा टोलीले काकाकै घरै मन्दिर बनाउने प्रस्ताव गर्छन् र भजन सुरु हुन्छ ।
भजनमा परिवारप्रतिको माया, आमाबुबाको सेवा, र नैतिक जीवनको महत्वलाई गहिरो भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
“घरै मन्दिर बनाउछु, अब तीर्थ जानै पर्दैन, यस्तो काम गर्छु मैले, अब मेरो कर्म मर्दैन।”
गीतमा भनिएको छ कि देवता टाढाको मन्दिरमा मात्र होइनन्, आफ्नै आमाबुबा, घरपरिवारमै देवत्व छ।
गीतले ‘बाआमाको मर्म’ बुझ्न र सच्चा कर्म गर्न सबैलाई प्रेरणा दिन्छ । सङ्गीत, दृश्य र संवादमार्फत भजनले समसामयिक समाजलाई एउटा मौलिक सन्देश दिन खोजेको छ ।
धर्म कर्म केवल बाहिरी आडम्बरतामा होइन, घरमै रहेका सम्बन्ध, सेवा र सहकार्यमा पनि निहित हुन्छ भन्ने सन्देश यो भिडियोले बोकेको छ ।
यो भजनले विशेषगरी आजको व्यस्त जीवनशैलीमा बाँचिरहेका नेपालीहरूलाई आत्मचिन्तन र पारिवारिक मूल्यको पुनः स्मरण गराउने प्रयास गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौरमा छायाङ्कन गरिएको यो भजनलाई भवानी हरिसिद्धी कला समूहको सहकार्यमा कलाकार रामशरण बजगाईंले ल्याउनु भएको हो ।
रामशरण बजगाईंको स्वरमा रहेको आठ मिनेट ३२ सेकेण्डको यो भिडियोको अवधारणा राजु तिमल्सिनाको रहेको छ भने यसको निर्देशन चन्द्र भण्डारीले गर्नु भएको छ ।