मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्नसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

‘कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दूराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभाव परिरहेको देखिएको छ।’

फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यकोतर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीकोतर्फबाट प्रचलित कानुनी विधि र प्रक्रियाविपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ ।

Author

Related News