हेटौँडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका अन्तर्गत पर्ने छिन्जा–बुढ्रा सडक खण्डमा सडक चौडा गर्ने कार्य भइरहेकोले कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सार्वजनिक सूचना जारी गर्दै लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिने जनाएको हो ।
प्रकाशित सूचनाअनुसार, कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट, ललितपुर र एमएस सर्वशक्त पञ्चकन्या सनस्टार जेभीबिच ठेक्का सम्झौता भई सो सडक खण्ड विस्तारको काम तीव्र रूपमा अघि बढाइँदैछ ।
सार्वजनिक सूचना अनुसार २०८२ बैशाख १८ गतेदेखि जेठ १ गतेसम्म हरेक दिन बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सवारी आवागमन पूर्णरूपमा बन्द गरिने छ।
उक्त समय अवधिमा काठमाडौँ–हेटौंडा वा हेटौंडा–काठमाडौँ यात्रा गर्न चाहने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । यात्रु तथा सवारी चालकहरूलाई असुविधा नहोस् भन्नका लागि सूचना प्रकाशित गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दुर्जनप्रसाद कडेलद्वारा हस्ताक्षरित सूचनामा ललितपुर र मकवानपुरका सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय तथा जानकारीका लागि पनि अनुरोध गरिएको छ ।