ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ ।
मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिनु भयो ।
रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० ओटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि समातिएको उहाँले बताउनु भयो ।
“बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ । आठ वर्षको बालक, १६ वर्षको बालक र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ । एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि समातेका छौँ । उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ ।”- उहाँले भन्नु भयो ।