मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एमालेको सहयोगमा सांसद निर्वाचित बोहोराको निधन

ललितपुर । नेकपा एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्वपञ्च दीपक बोहराको निधन ०८१ चैत १९ गते भएको छ । केपी ओली नेतृत्वको सरकारमा उहाँ श्रम तथा रोजगार मन्त्री हुनु भएको थियो । काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोना महामारीका बेला गम्भीर बिरामी हुनुभएका उहाँ त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित हुँदै आउनु भएको थियो । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ घाँटीसम्बन्धी समस्याबाटै पीडित भएकाले बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन । सोही कारण उहाँ निर्वाचनका बेला र निर्वाचित भएपछि पनि प्रतिनिधिसभामा एक पटक पनि बोलेको सार्वजनिक भएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बोहरालाजिताएर तत्कालीन गृहमन्त्री  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरिएको थियो । 

पञ्चायतकालमै राज्य र सहायकसहित पाँच पटक मन्त्री बन्नुभएका उहाँ गणतन्त्रमा पनि चार पटक मन्त्री बन्नु भएको थियो । उहाँ २०३८ सालमा पर्यटन राज्यमन्त्री, सोही वर्ष पर्यटन सहायकमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्यसैगरी २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री र २०४४ सालमा निर्माण तथा यातायातमन्त्रीका रूपमा उहाँले कामकाज गर्नु भएको थियो ।

यस्तै गणतन्त्रपछि २०६७ सालमा वन तथा भूसंरक्षण मन्त्री बन्नु भएका बोहोरा केपी ओली नेतृत्वको सरकारका पालामा २०७२ सालमा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा आपूर्तिमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ मा स्वास्थ्यमन्त्रीका रुपमा कामकाज गर्नु भएको थियो ।

२०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उहाँ २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी हुनु भएको थियो । उहाँ २०७० सालमा पनि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

त्यसअघि बोहरा २०६४ सालको संविधानसभा निर्वाचनमा भने रुपन्देही-१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित हुनु भएको थियो । यस्तै २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै उहाँ विजयी हुनु भएको थियो ।  यस्तै प्रतिनिधि सभा निर्वाचन, २०७४ मा उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम भुसालसँग पराजित हुनु भएको थियो ।

Author

Related News