काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घको निर्वाचन तथा अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।
उच्च अदालत पाटनले सङ्घको मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।
सङ्घको १५औँ राष्ट्रिय अधिवेशन यही मङ्सिर ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने कार्यतालिका थियो ।
अधिवेशन सुरु हुन तीन दिनअघि अदालतले निर्वाचनसम्बन्धी प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएपछि निर्धारित कार्यक्रम प्रभावित भएको छ ।
निवेदक लक्ष्मीप्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल औषधि व्यवसायी सङ्घको केन्द्रीय कार्यालय, सङ्घको निर्वाचन समितिको केन्द्रीय सचिवालय, प्रमुख निर्वाचन अधिकृत शिवराज धिताल र केन्द्रीय सहायक कार्यालय प्रमुख गणेश पुडासैनीलाई विपक्षी बनाई उत्प्रेषणको मागसहित रिट निवेदन दायर गरेका थिए ।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले २०८३ मङ्सिर २ गते निवेदकका तर्फबाट अधिवक्ता प्रविण सुवेदीको बहस सुनेपछि विपक्षीका नाममा कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
