मानव आवाज

२०८३ कात्तिक २ गते
00: 00: 00
२०८३ कात्तिक २ गते

निःशुल्क स्वास्थ्य शिविरबाट प्याराग्लाइडिङ पाइलटसहित १ सय जना लाभान्वित

पोखरा । कर्मफ्लाइट्स् फाउण्डेसन नेपालको आयोजना तथा नेपाल हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना लाभान्वित भएका छन् ।

२०८३ असोज ३१ गते पोखरा महानगरपालिका-६, बङ्गलादीमा आयोजित शिविरमा प्याराग्लाइडिङ पाइलट, स्थानीय नागरिक तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बिरामी जाँचपुर्जा सहप्राध्यापक डा. सरोज पोखरेललाई हस्तान्तरण गरी शिविरको शुभारम्भ गरेका थिए ।

वडाध्यक्ष भट्टराईले कर्मफ्लाइट्स् फाउण्डेसन नेपालले दुर्गम जिल्लाहरूमा समेत मानवीय तथा सामाजिक सेवाका कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक गतिविधिमा स्थानीय सरकारको निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्मफ्लाइट्स् फाउण्डेसन नेपालका अध्यक्ष कृष्णप्रसाद पाण्डेले प्याराग्लाइडिङ पाइलटहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनुभयो ।

शिविर सफल बनाउन समय, ज्ञान, सीप र सेवाभावका साथ योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै उहाँले प्राथमिक उपचारमा प्रयोग हुने किटसमेत हस्तान्तरण गर्नुभयो ।

शिविरमा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर र सिटी प्याथ ल्याबका विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, भिडियो एक्सरे सेवा तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

पाइलटहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै आयोजना गरिएको शिविरमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा अर्घाखाँची पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डे, नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापा, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष माधव तिवारी तथा संस्थाकी निवर्तमान अध्यक्ष शर्मिला शर्मालगायतको उपस्थिति थियो ।

उहाँहरूले फाउण्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।  

विद्यालयको शैक्षिक सुधार, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार, खानेपानी, सरसफाइ र स्वास्थ्यका क्षेत्रमा संस्थाले गर्दै आएका कार्यलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको थियो ।

कर्मफ्लाइट्स् फाउण्डेसन नेपालका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सहसचिव अप्सरा केसीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले गर्नुभएको थियो ।

शिविरमा स्थानीय नागरिक, संस्थाका पदाधिकारी, सामाजिक संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार