मानव आवाज

२०८३ कात्तिक २ गते
00: 00: 00
२०८३ कात्तिक २ गते

सिन्धुलीका रक्तमाला र कालिमाई मन्दिरमा फूलपाती भित्र्याइयो

सिन्धुली । कमलामाई नगरपालिका-४, ढकालगाउँस्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

२०८३ असोज ३१ गते शनिबार फूलपातीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा भक्तजनहरूको उल्लासमय उपस्थितिमा फूलपाती परिक्रमा गराई भव्य समारोहबिच संयुक्त सलामी अर्पणसहित फूलपाती भित्र्याइएको हो ।

रक्तमाला मन्दिर संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेशका १३ जिल्लाका १ सय १९ ओटै स्थानीय तहमा रहेका जीर्ण मठमन्दिरको पुनर्निर्माण, संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व उजागर गर्न संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत हरेक वर्ष बजेट छुट्याउने गरिएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री थापाले भौगोलिक हिसाबले बागमती प्रदेशकै ठूलो जिल्लामध्ये एक सिन्धुलीको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

विभिन्न राजमार्गसँग जोडिएको सिन्धुलीले कृषि, पर्यटन तथा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबिच, कमलामाई नगरपालिका-५, मधुटारस्थित कालिमाई मन्दिरमा पनि सलामी अर्पणसहित फूलपाती भित्र्याइएको छ ।

दुवै मन्दिरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रमले दशैँको उत्सवमय वातावरणलाई थप उल्लासपूर्ण बनाएको छ ।

Author

सम्बन्धित समाचार