मानव आवाज

२०८३ असोज ३१ गते
00: 00: 00
२०८३ असोज ३१ गते

रेसुङ्गा-७ को समृद्धिका लागि अभियन्ता पन्थीको प्रतिबद्धता

गुल्मी । रेसुङ्गा नगरपालिका-७ का सामाजिक अभियन्ता गणेश पन्थी (गोपाल) ले सुशासन, पारदर्शिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै नगरको समृद्धिका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लामो समयदेखि व्यवसाय, जनसेवा र सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएका पन्थीले स्थानीय आवश्यकता सम्बोधन गर्दै रेसुङ्गाको विकासमा योगदान गर्ने संकल्प व्यक्त गर्नुभएको हो ।

समुदायका परम्परा, संस्कृति, चाडपर्व तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका पन्थीले सामाजिक सद्भाव, सहकार्य र एकता प्रवर्द्धनमा जोड दिँदै आउनुभएको छ। राजनीतिक सीमाभन्दा माथि उठेर सबै समुदायलाई समान सम्मान र अवसर प्रदान गर्नु नै समावेशी नेतृत्वको पहिचान भएको उहाँको धारणा छ।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड

स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने पन्थीले बताउनुभएको छ।

“जनताले बुझाएको करको सही उपयोग हुनुपर्छ। नगरपालिकाको बजेट र योजनामा पूर्ण पारदर्शिता, जबाफदेहिता र सुशासन कायम नगरी वास्तविक विकास सम्भव छैन ।”-उहाँले भन्नुभयो ।

उहाँले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कृषियोग्य जमिनको खण्डीकरण, किसानले उत्पादन गरेका तरकारीको बजार तथा उचित मूल्य, युवा स्वरोजगार र महिला सशक्तीकरणलगायतका स्थानीय मुद्दामा पनि पन्थीले सार्वजनिक रूपमा आवाज उठाउँदै आउनुभएको छ ।

विपद्का समयमा राहत तथा सहयोग जुटाउने, सामाजिक र धार्मिक अभियानमा सहकार्य गर्ने तथा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्ने कार्यमा समेत उहाँको सक्रियता देखिँदै आएको छ ।

कृषि, पर्यटनदेखि युवा स्वरोजगारसम्म प्राथमिकता

रेसुङ्गा नगरपालिकाको समग्र विकासका लागि पन्थीले पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासन, दिगो पूर्वाधार, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, युवा स्वरोजगार, कृषि र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्नुभएको छ ।

नागरिक बडापत्रको प्रभावकारी कार्यान्वयन, डिजिटल सेवा प्रवाह तथा विकास योजनाको सार्वजनिक लेखापरीक्षणमार्फत स्थानीय सरकारलाई थप जवाफदेही बनाउनुपर्ने उहाँको धारणा छ ।

गुणस्तरीय सडक, खानेपानी, सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्दै व्यवस्थित बस्ती विकास गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा सर्वसाधारणको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विषयलाई पनि उहाँले महत्त्व दिनुभएको छ ।

स्थानीय स्रोतसाधनको सदुपयोग गरी युवाका लागि रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ ।

ऐतिहासिक रेसुङ्गा क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनसँगै स्थानीय किसानका उत्पादनका लागि उपयुक्त बजार र उचित मूल्यको व्यवस्था गर्न पहल गर्ने उहाँले बताउनुभएको छ ।

साथै, व्यवस्थित र सुरक्षित बस्ती निर्माण तथा स्थानीय पूर्वाधारको समुचित विकासमा अगुवाइ गर्ने उहाँको योजना छ ।

नयाँ सोचसहित समृद्धिको संकल्प

रेसुङ्गा नगरपालिका-७ बाट सुरु हुने विकासको अभियानलाई समग्र नगरको समृद्धिसँग जोड्नुपर्ने धारणा राख्दै पन्थीले स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा सबै समुदायलाई साझा विकास अभियानमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

“हामीलाई कुरा होइन, काम गर्ने स्पष्ट दृष्टिकोण र इमानदार नेतृत्व चाहिएको छ । रेसुङ्गाको माटो, यहाँका नागरिकको भावना र आवश्यकतालाई नजिकबाट बुझेको छु । अब पुरानै परिपाटीबाट होइन, नयाँ सोच र दृढ संकल्पका साथ निर्धक्क भएर समृद्धिको यात्रामा अघि बढ्ने समय आएको छ ।”-उहाँले भन्नुभयो ।

समाजलाई आवश्यक परेको समयमा अग्रसर हुने, समुदायलाई सङ्गठित गर्ने र समस्यामा परेकालाई सहयोग गर्ने कार्य नै सामाजिक नेतृत्वको वास्तविक पहिचान भएको पन्थीको धारणा छ ।

सुशासन, जनउत्तरदायित्व र समावेशी विकासलाई केन्द्रमा राखेर अघि बढ्ने उहाँको प्रतिबद्धताले रेसुङ्गा नगरपालिका- ७ सहित समग्र नगरको विकाससम्बन्धी बहसलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार