सिन्धुली । आर्थिक अभावका कारण वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित कमलामाई नगरपालिका-१२, टङ्सारका शङ्करबहादुर सार्कीको घरमा बिजुली जडान गरिएको छ ।

गाउँमा करिब ६ वर्षअघि नै विद्युत् सेवा पुगे पनि कमजोर आर्थिक अवस्थाका कारण उहाँको घरमा भने बिजुली पुग्न सकेको थिएन ।
स्थानीय सुवास घिमिरेको पहल र परिवारको सहयोगमा सार्कीको घरमा विद्युत् जडान गरिएको हो । घरमा बिजुली पुर्याउन करिब १३ हजार रुपियाँ खर्च भएको घिमिरेले जानकारी दिनुभयो ।
हाल घरमा तीन ओटा बल्ब जडान गरिएका छन् । विद्युत् जडानपछि लाग्ने मासिक महसुलसमेत आफूले नै तिरिदिने घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार सार्कीको घरमा बिजुली जडानका लागि वडा कार्यालयमा पटकपटक जानकारी गराउँदा व्यवस्था मिलाइदिने आश्वासन पाए पनि लामो समयसम्म जडान हुन सकेको थिएन ।
त्यसपछि छिमेकीको नाताले आफूले व्यक्तिगत पहलमा सहयोग गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि टुकीको भरमा रात बिताउँदै आएका सार्कीको घरमा बिजुली बलेपछि परिवारमा खुसी छाएको छ ।